‘कृषिमा आत्मनिर्भर बनाउन प्रदेश सरकार प्रतिबद्ध छ’

 काठमाडौँ, १ मङ्सिरः सुदूरपश्चिम प्रदेशका भूमि, कृषि तथा सहकारी विकासमन्त्री वीरबहादुर थापाले प्रदेश सरकार कृषिमा आत्मनिर्भर हुने गरी काम गरिरहेको बताउनुभएको छ ।  

आज कृषि विकास निर्देशनालय र बडीमालिका नगरपालिकाको संयुक्तरुपमा आयोजनमा कृषि बजार तथा कोल्ड च्याम्बर हस्तान्तरण कार्यक्रममा कृषि क्षेत्रको प्रवर्द्धन र आधुनिक कृषितर्फ लैजाने गरी सरकारले निती तथा कार्यक्रम नै ल्याएको बताउनुभयो ।

प्रदेशका पहाडी जिल्लामा कृषि क्षेत्रको सम्भावना रहेकाले सात जिल्लालाई पहिलो प्राथमिकतामा राखेको मन्त्री थापाले स्पष्ट पार्नुभयो । उहाँले कृषि क्षेत्रको लगानी बढाएर कृषकलाई स्थानीयस्तरमा उत्पादन हुने रैथाने बाली र आधुनिक कृषिमा प्रवर्द्धन गर्ने गरी सरकारले नीति लिएको धारणा व्यक्त गर्नुभयो । 

मन्त्री थापाले सुदूरपश्चिम प्रदेशमा ८४ प्रतिशत नागरिक कृषि पेसामा संलग्न रहेकाले कृषिमा आबद्ध रहेको दाबी गर्नुभयो । प्रदेश सरकारले कृषि क्षेत्रलाई नै पहिलो प्राथमिकता राखेर काम गर्ने सरकार तयार रहेको उहाँको भनाइ छ । 

“कृषिमा लगानी गरेर उत्पादन गरिएको वस्तु सहज रुपमा बजारसम्म पुर्याउन र बजारमा पुगे बिक्री गर्न समस्या र बाँझो जमिन उपयोगमा नहुने नै मुख्य समस्या भएको हो”, उहाँले भन्नुभयो ।

पहाडी जिल्लामा बाझो रहेको जमिनलाई उपयोग गरी युवालाई स्वरोजगार बनाउने गरी काम गर्न सरकार प्रतिबद्ध रहेको मन्त्री थापाको जिकिर थियो । कृषि बजार तथा कोल्ड च्याम्बर पालिका र जिल्लाभरिका कृषकहरुले उत्पादन गरेका रैथाने बाली र अन्य उत्पादनको व्यवस्थापन गर्ने गरी निर्माण गरिएको हो । नगरपालिकाको रु १२ लाख १५ हजार ४७१ र कृषि विकास निर्देशनालय डोटीको रु ४१ लाख १९ हजार ९८४ गरी रु ८५ लाख एक हजार ८४० को लागतमा निर्माण गरिएको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख भूमिराज उपाध्यायले जानकारी दिनुभयो । 

उहाँले कृषि बजारमा कृषकले उत्पादन गरेर ल्याएका तरकारी तथा खाद्यान्न बाली बिक्री र उनीहरुलाई चिस्यान केन्द्र(कोल्ड स्टोर)मा राख्ने गरी खरिद बिक्रीको कार्य हुने बताउनुभयो । कोल्ड स्टोर निर्माणपछि कृषकले उत्पादन गरेका फलफूल, तरकारी, रैथाने बालीको एकै ठाउँबाट बिक्री वितरणमा सहज हुने कार्यालय प्रमुख उपाध्यायको भनाइ छ ।

सो केन्द्र विसं २०७६ मा निर्माण कार्य सम्पन्न गर्ने गरी सम्झौता भए पनि पाँच वर्षपछि निर्माण कार्य सम्पन्न भएर हस्तान्तरण गरिएको हो । कृषि उपज सङ्कलन केन्द्रले भण्डार तथा बिक्री वितरणमा सहयोग पु¥याउने कृषि ज्ञान केन्द्रका प्रमुख उपाध्यायले बताउनुभयो । 

चिस्यान केन्द्रसहित कृषि हाट बजार सञ्चालनमा आएपछि उत्पादित आलु, बन्दा, सुन्तला, स्याउ र परम्परागत बालीको भण्डारण गर्न सहयोग पुग्ने नगरपालिकाको कृषि शाखाले जनाएको छ ।