जर्मन चान्सलर स्कोल्ज र रूसी राष्ट्रपति पुटिनबीच दुई वर्षपछि पहिलो पटक फोन वार्ता
जर्मन चान्सलर ओलाफ स्कोल्ज र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले लगभग दुई वर्षपछि पहिलोपटक शुक्रबार फोनमा एक घन्टासम्म कुराकानी गर्नुभएको जर्मन सरकारी स्रोतले बताएको छ । यद्यपि कुराकानीको विषयवस्तु खुलाइएको छैन ।
क्रेमलिन प्रमुख र प्रमुख पश्चिमी मुलुकका प्रमुखबीच सन् २०२२ डिसेम्बरपछि पहिलो पटक कुराकानी भएको हो । युरोपेली सङ्घ (इयु) र अमेरिकाले युक्रेनमा आक्रमण गरेकामा रुसमाथि ठूलो प्रतिबन्ध लगाएपछि पुटिनले सन् २०२२ देखि अधिकांश नेटो र पश्चिमी नेताहरूसँग कुरा गर्नुभएको छैन ।
नाटो समूहभित्र पश्चिमी नीतिको आलोचना गर्दै आउनुभएका हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओर्बान र टर्कीएका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग पुटिन सम्पर्कमा हुनुहुन्छ ।
जर्मन र रूसी नेताबीचको यो कुराकानी युक्रेनमाथि रूसको पूर्णस्तरको आक्रमणको महत्त्वपूर्ण मोडमा आएको हो ।
सन् २०२२ को फेब्रुअरीमा रुसले सुरु गरेको युद्ध तेस्रो जाडोतिर अघि बढ्दै जाँदा किएभका सेनाहरू बढ्दो दबाबमा छन् । जर्मनी युक्रेनको सबैभन्दा ठूलो सैन्य समर्थकहरू मध्ये एक हो । अमेरिकापछि जर्मनी युक्रेनलाई सैन्य सहायता प्रदान गर्ने दोस्रो ठूलो देश पनि हो ।
तर चुनावी अभियानमा युक्रेनलाई सहयोगको आलोचना गर्ने ह्वाइट हाउसमा डोनाल्ड ट्रम्पको विजयले वासिङ्टनको निरन्तर समर्थनमा शङ्का खडा गरेको छ ।
प्रतिक्रिया