तलब नपाएपछि चिनियाँ ईभी कम्पनीका कर्मचारीले जागिर छोडे

 चिनियाँ विद्युत् सवारी साधन उत्पादक कम्पनी युआनहाङ गहिरो आर्थिक संकटमा फसेको छ । चर्चित कम्पनी डेयुनको लगानी रहेको यस कम्पनीले आफ्ना कर्मचारीलाई समयमा तलब दिन नसक्ने अवस्था सिर्जना भएको छ । जसका कारण धेरैजसो कर्मचारीले जागिर छोडेका छन् ।

कार न्युज चाइनाको रिपोर्ट अनुसार युआनहाङको रिसर्च एन्ड डिजाइन विभागमा काम गर्ने थोरै कर्मचारी मात्रै बाँकी छन्, बाँकीलाई बेतलबी बिदामा पठाइएको छ । आर्थिक अवस्था सुधार गर्न कम्पनीले सरकारी सहयोग र नयाँ लगानीकर्ताको खोजी गरिरहेको बताइएको छ ।​

डेयुनले भने युआनहाङलाई ‘बैंकरप्ट’ हुनबाट बचाउन प्रतिबद्ध रहेको जनाएको छ । सन् १९८७ मा स्थापना भएको डेयुनले ट्रक, मोटरसाइकल लगायतका सवारीका इन्जिन निर्माण गर्दै आएको छ ।

सन् २०२२ मा युआनहाङलाई ईभी उत्पादनको लागि स्थापना गरिएको थियो । कम्पनीले वाई-६ र वाई-७ सेडान तथा एच-८ र एच-९ एसयूभी सार्वजनिक गरिसकेको छ । यद्यपि, यस वर्षको पहिलो नौ महिनामा कम्पनीले केवल ५,५८४ वटा गाडी मात्र बेच्न सफल भएको छ ।

युआनहाङ संकटमा परेको यो पहिलो चिनियाँ ईभी कम्पनी भने होइन । यसअघि २०२४ को सुरुमा ह्युमन होराइजन नामक ईभी कम्पनी पनि टाट पल्टेको थियो । साथै डब्लूएम मोटर्स, चाङजियाङ ईभी, बाइटन, बोर्ड्रिन मोटर्स, जङसु सलिन अटोमोटिभ टेक्नोलोजीजस्ता कम्पनी पनि बन्द हुने अवस्थामा पुगेका छन् । बढ्दो प्रतिस्पर्धा, ब्याजदरमा वृद्धि र आपूर्ति श्रृंखलामा आएको अस्तव्यस्तता जस्ता कारणले यी कम्पनीहरू संकटमा परेका हुन् ।