सूचनाको हक हरेक क्षेत्र र निकायले कार्यान्वयन गर्नुपर्छः  प्रमुख सूचना आयुक्त गुरुङ

 राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले सूचनाको हक हरेक क्षेत्र तथा निकायले कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ ।

आयोगले आज तुलसीपुर उपमहानगरपालिकामा आयोजना गरेको सूचनाको हकसम्बन्धी अन्तरक्रियामा उहाँले हरेक तीन÷तीन महिनामा आफूले गरेका कामकारबाही सार्वजनिक र कुनै पनि नागरिकले माग गरेका सूचना सहज रूपमा उपलब्ध गराउने हो भने सूचनाको हक स्वतः कार्यान्वयन हुने बताउनुभयो । प्रमुख सूचना आयुक्त गुरुङले सरकारी तथा गैरसरकारी संघसंस्थालाई सूचना अधिकारी अनिवार्य तोक्न आदेश दिइसकेकाले त्यसको पालना गर्न आग्रह गर्नुभयो । 

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका प्रमुख टीकाराम खड्काले सूचनाको हकसम्बन्धी ऐन कार्यान्वयनमा उपमहानगर गम्भीर रहेको बताउनुभयो । उहाँले ऐनमा भएको व्यवस्थाअनुसार नै सूचना अद्यावधिक गर्ने गरिएको जानकारी दिनुभयो । 
 
दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले पारदर्शी हिसाबले सेवा प्रवाह गर्दा सूचनाको हकमा मद्दत पुग्ने बताउनुभयो । राष्ट्रिय सूचना आयोगका उपसचिव युवराज अधिकारीले सूचनाको हकसम्बन्धी संवैधानिक तथा कानुनी व्यवस्थाका विषयमा प्रस्तुतीकरण राख्नुभएको थियो भने दिनेश भट्टराईले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।