‘कला विकासका अभियन्ताको निधनले ललितकला क्षेत्रमा ठूलो क्षति’

काठमाडौँ, २७ कात्तिकः नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति, पूर्वकुलपतिलगायत अग्रज कलाकारहरुले कला विकासका अभियन्ता कलाकार राकेशचन्द्र श्रेष्ठको निधनले ललितकला क्षेत्रकै लागि अपुरणीय क्षति भएको बताउनुभएको छ । 

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान नक्सालमा आज श्रेष्ठको १३औँ दिनको पुण्यतिथिका सन्दर्भमा आयोजित श्रद्धाञ्जलिसभाका क्रममा उहाँहरुले ललितकला क्षेत्रका असल कलाकार गुमाउन पुगेकोमा दुःख व्यक्त गर्नुभयो ।

प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले श्रेष्ठको योगदानको सम्मानका लागि प्रतिष्ठानबाट के गर्न सकिन्छ आफूहरु तयार रहेको बताउनुभयो । ललितकलाका अग्रज कलाकार, शनिबारीय प्रत्यक्ष कला कार्यशालाका संस्थापक कार्यकारी प्रमुख राकेशचन्द्र श्रेष्ठको मस्तिष्कघातका कारण ५७ वर्षको उमेरमा यही कात्तिक १५ गते बिहीबार काठमाडौँमा निधन भएको थियो । 

उहाँको जन्म विसं २०२४ मा भएको थियो । उहाँ मुख्यगरी शनिबारीय कला कार्यशाला अभियानका अभयन्ता हुनुहुन्थ्यो । सो क्रममा प्रतिष्ठानका पूर्वकुलपति कान्छाकुमार कर्माचार्यले कुनै पनि जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्ने आँटिलो कलाकारका रुपमा आफूले चिनेको स्मरण गर्नुभयो । उहाँका कला अभियानका इच्छा पूरा गर्न सकियो भने त्यही नै सच्चा श्रद्धाञ्जली हुने बताउनुभयो ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, शनिबारीय चित्रकला कार्यशाला अभियान, राष्ट्रिय ललितकला सङ्घ, अखिल नेपाल ललितकला सङ्घ, आर्ट नेपाल, साइकल कल्चर कम्युनिटी, न्यूरो आर्ट नेपाल, अल्कोहल इङ्क आर्ट कम्युनिटी नेपालको आयोजनामा भएको श्रद्धाञ्जलि सभामा ललितकला क्षेत्रका प्रतिनिधि तथा कलाकारहरूको उपस्थिति थियो । 

उहाँसँग पटकपटक सहकार्य गर्दै कला अभियानमा जोडिनुभएका कलाकार दीपेन्द्रमान बनेपालीा अनुसार श्रेष्ठ पछिल्लो समय अल्कोहलिक आर्टमा सक्रिय हुनुभएको थियो । यसका साथै उहाँ न्यूरो आर्ट सर्कलमा समेत सहभागी भएर मानसिक अपाङ्गता भएकाहरुका लागि योगदान पुर्याउँदै आउनुभएको बनेपालीले बताउनुभयो ।

उहाँका सहकर्मी एवं शनिबारीय प्रत्यक्ष कला कार्यशाला अभियानका अभियन्ता कलाकार दिवेश प्रधानले भन्नुभयो, “नेपाली ललितकला क्षेत्रको एक कर्मशील कलाकारको अवसान भएको छ, उहाँ सधैँ सङ्घर्षरत इमान्दारपूर्वक काममा लाग्ने, जुन काममा पनि प्रतिबद्ध हुनुहुन्थ्यो ।” 

उहाँले श्रेष्ठको सङ्कल्प पूरा गरी कला अभियानलाई निरन्तर अघि बढाउने बताउनुभयो । कलाकार प्रधानले नवआगन्तुक कलाकारलाई प्रोत्साहन गर्ने श्रेष्ठको सम्झनामा राकेशचन्द्र श्रेष्ठ शनिबारीय कला कार्यशाला अभियान थाल्ने घोषणा गर्नुभएको छ । उहाँका कलाकृति समेटेर कला प्रदर्शनी पनि आयोजना गर्ने उहाँले बताउनुभयो । 

उहाँको कला योगदानबारे प्रतिष्ठानका प्राज्ञा परिषद् सदस्य सौरगङ्गा दर्शनधारी, सञ्जय वास्तवा, प्रतिष्ठानका पूर्वसदस्य सचिव बिपीन घिमिरेलगायतले स्मरण गर्नुभएको थियो ।