राहुल गान्धीलाई कारबाही गर्न भाजपाकाे माग
भारतीय जनता पार्टी (भाजपा)ले कांग्रेस नेता राहुल गान्धीलाई कारबाही गर्न माग गरेको छ । भाजपाको एक प्रतिनिधिमण्डलले सोमबार मुख्य निर्वाचन आयुक्तलाई भेटेर राहुलमाथि कारबाही अघि बढाउन माग गरेको हो ।
महाराष्ट्र विधान सभा निर्वाचनको चुनावी सभामा उनले झुठ बोलेका र भाजपामाथि कलोकल्पित आरोप लगाएको भन्दै भाजपाले कारबाहीको माग गरेको हो । प्रतिनिधिमण्डलमा केन्द्रीय कानूनमन्त्री अर्जुनराम मेघवाल पनि सहभागी थिए । उनले राहुल गान्धीले राज्यका जनतालाई एक अर्काका विरुद्ध खडा गर्ने प्रयास गरिरहेको निर्वाचन आयुक्तसमक्ष बताए । मन्त्री मेघवालले राहुलविरुद्ध संविधानको धारा ३५३ अनुसार एफआईआर दर्ता गर्न माग गरेका छन् ।
विधान सभा चुनावको विषयलाई लिएर मुख्यगरी कांग्रेस र भाजपा गठबन्धन आमने सामने भएका छन् । उनीहरूले एकअर्काविरूद्ध कारबाहीको माग गरिहेका छन् । कांग्रेस नेता जयराम रमेशले आइतबार भाजपालाई कारबाही गर्न माग गरेका थिए ।
भाजपाले झारखण्डमा मतदातालाई बहकाउमा पार्ने, गलत सन्देश प्रवाह हुने खालको झुठो खबर सामाजिक सञ्जाल एक्समार्फत् फैलाएको कांग्रेस नेता रमेशले निर्वाचन आयोगमा उजुरी गरेका थिए। उनले आयोगमा उजुरी दिएपछि राँची प्रहरीले भाजपाविरुद्ध केस दर्ता गरिसकेको छ ।
महाराष्ट्रमा यही नोभेम्बर २० मा विधान सभा निर्वाचन हुँदैछ । त्यहाँ २८८ सिटका लागि चुनाव हुनेछ । मतगणना भने नोभेम्बर २३ देखि हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
कांग्रेस, शिवसेना (यूबीटी) र राष्ट्रवादी कांग्रेस पार्टी (एससीपी)ले गठबन्धन गरेका छन् भने एकनाथ शिन्दे नेतृत्वको शिवसेना, भाजपा र अजीत पवारको नेतृत्वमा रहेको एनसीपीको अर्को गठबन्धन छ ।
प्रतिक्रिया