पानीका मुहान संरक्षण गर्नुपर्नेमा मन्त्री यादवको जोड

काठमाडौँ, २५ कात्तिकः खानेपानीमन्त्री प्रदीप यादवले पानीका मुहान संरक्षण र पुनःस्थापनाका लागि कार्यटोली बनायर यथाशीघ्र  काम गर्नुपर्नेमा जोड दिनुभएको छ ।

मन्त्रालयमा आज आयोजित खानेपानीका मूल संरक्षणका लागि अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)का पदाधिकारीसँगको छलफलमा उहाँले यस कार्यमा सहकार्य गरेर अगाडि बढ्न सकिने बताउनुभयो । मन्त्री यादवले भन्नुभयो, “जलवायु परिर्वतनका कारण पानीका मूल सुक्न थालेका छन्, जसले गर्दा पानीको ठूलो समस्या देखिँदै छ । मुहान संरक्षणका लागि इसिमोडले लामो समयदेखि काम गर्दै आएकाले मन्त्रालय यहाँहरूसँग सहकार्य गर्न तयार छ ।”

उहाँले मन्त्रालयले खानेपानी आयोजनाको अभिन्न अङ्गका रूपमा मुहान संरक्षण कार्य अगाडि बढाउने र यस्ता कार्यलाई एकीकृत रूपमा लैजाने बताउनुभयो । 

छलफलमा इसिमोडका जलाधार तथा मूलाधार विशेषज्ञ माधवप्रसाद ढकालले मूल संरक्षणका क्षेत्रमा तयार गरिएको अध्ययन सामग्री प्रस्तुत गर्नु भएको थियो । उक्त अध्ययन सामग्रीअनुसार नेपालमा छ लाख पानीका मूल रहेका र कम्तीमा एक करोड मानिस तीनमा आश्रित रहेका छन् । यहाँ भएकामध्ये करिब ३० प्रतिशत मूल सुकेका तथा त्यसमा पानीको गुणस्तर पनि घटेकाले यो निकै चिन्ताको विषय भएको जलाधारविज्ञ ढकालको भनाइ थियो । 

सोही संस्थाका अनुगमन, मूल्याङ्कन र सिकाइ प्रमुख फरिद अहमदले मूल संरक्षण तथा सम्वर्द्धनमा सहकार्य गरी सिकाइ आदानप्रदान गर्न सकिने बताउनुभयो । उहाँले सुकेका मूलको नक्साङ्कन, जल तथा भौगोलिक अध्ययनमा सहकार्य गर्न सकिने धारणा राख्नुभयो । 

छलफलमा मन्त्रालयका सचिव ई प्रमिलादेवी शाक्य बज्राचार्य, सहसचिव रमाकान्त दुवाडी, मिना श्रेष्ठ, खानेपानी व्यवस्थापन समितिका कार्यकारी निर्देशक रत्न लामिछानेलगायतको सहभागिता रहेको थियो ।