अर्थ समितिका काम प्रभावकारी बनाउन छलफल
काठमाडौँ, २५ कात्तिकः सङ्घीय संसद् प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिका काम प्रभावकारी र नतिजामुखी ढङ्गले सञ्चालन गर्न छलफल भएको छ ।
समितिको आजको बैठकमा कार्यसूची बनाउने र सदस्यहरुको सहभागिता बढाउने विषयमा छलफल भएको सभापति सन्तोष चालिसेले जानकारी दिनुभयो । समितिमा विचाराधिन विधेयकलाई चाँडो टुङ्ग्याउने तथा समितिका अन्य काम कारबाहीलाई प्रभावकारी बनाउन सदस्यहरुको बैठकमा उपस्थिति बढाउनेबारे पनि छलफल भएको उहाँको भनाइ छ ।
“संसदीय समितिका बैठकहरुमा गणपूरक सङ्ख्या (कोरम) नपुग्ने समस्या छ । कोरम नपु¥याइ छलफल र निर्णयहरु गर्न नियमले मान्दैन”, आजको बैठकमा उहाँले भन्नुभयो, “सभामुखले पनि यस विषयमा चासो देखाउनु भएको छ । समितिका बैठक बोलाउँदा सबै दलका प्रमुख सचेतक तथा सचेतकहरुलाई जानकारी गराउने र सदस्यहरुको उपस्थिति बढाउने विषयमा पनि छलफल भएको छ ।”
समितिको आजको बैठकमा सांसद सूर्यबहादुर थापा क्षेत्रीले समितिका काम प्रभावकारी बनाउन कार्यतालिका बनाएर कडाईका साथ लागू गरिनुपर्ने बताउनुभयो । समितिमा गणपूरक संख्या नपुगेर विधेयक माथिका छलफल प्रभावित हुन नहुने उहाँको भनाई थियो ।
त्यस्तै, सांसद जुली कुमारी महतो (महासेठ)ले चालु आर्थिक वर्षको बजेट कार्यान्वयनका सन्दर्भमा सम्बन्धित मन्त्रालयहरुलाई समितिमा बोलाएर जानकारी लिनुपर्ने बताउनुभयो ।
अर्थ समितिमा अहिले पाँचवटा विधेयक विचाराधिन छन् । ती विधेयकमाथि चाँडो छलफल गरेर टुङ्गाउनुपर्ने धारणा समितिका अधिकांश सदस्यहरुको मत छ ।
चाडबाडहरु सकिएको र अहिले संसदको हिउँदे अधिवेशन समेत सुरु नभएको अवस्थामा समितिका गतिविधिहरु बढ्नुपर्ने विषय समितिमा उठेको थियो । त्यस्तै, आगामी मङ्सिर १६ गतेका लागि तय भएको उपनिर्वाचन अघि समितिका बैठक प्रभावित हुनसक्ने धारणा सांसदहरुको थियो ।
प्रतिक्रिया