फिल साल्टको शतकमा वेस्ट इण्डिजमाथि इङ्ग्ल्याण्डकाे जित
ओपनर फिल साल्टको शतकको सहयोगमा घरेलु टोली वेस्ट इण्डिजमाथि इङ्ग्ल्याण्डले पहिलो टि ट्वान्टी आईमा सहज जित हासिल गरेको छ ।
आइतवार बिहान भएको खेलमा वेस्ट इण्डिज पाहुना टोलीसँग ८ विकेटले पराजित भएको हो । जितसँगै ३ खेलको टि ट्वान्टी आई सिरिजमा पाहुना टोलीले १-० को अग्रता बनाएको छ । वेस्ट इण्डिजले दिएको १ सय ८३ रनको लक्ष्य पाहसना टोलीले १६.५ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो ।
पाहुना टोलीको जितमा ओपनर साल्टले ५४ बलमा ९ चौका र ६ छक्काको सहयोगमा नट आउट १ सय ३ रनको इनिङ खेले । २८ बर्षिय साल्टले टि ट्वान्टी आई करियरको तेस्रो शतक ५३ बलमा पूरा गरेका थिए । साल्टले तीनै शतक क्यारेबियनमा नै पूरा गरेका छन् ।
साल्टले तेस्रो विकेटका लागि ज्याकोब बेथहेलसँग मिलेर १ सय ७ रनको नट आउट विजयी साझेदारी गरेका थिए । बेथहेलले ३६ बलमा ५ चौका र २ छक्काको सहयोगमा नट आउट ५८ रन बनाएका थिए । ओपनर विल ज्याक्सले १० बलमा १७ रन जोड्दा कप्तान जस बटलरले भने रनको खाता खोल्न सकेनन् ।
वेस्ट इण्डिजका लागि गुणकेश मोटी र रोमारियो शेफर्डले समान १ विकेट लिए ।
त्यसअघि बारबाडोसस्थित किंग्स्टन ओभलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोलीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ८२ रनको योगफल तयार गरेको थियो । घरेलु टोलीका लागि विकेट किपर निकोलस पुरनले २९ बलमा २ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक ३८, रोमारियो शेफर्डले २२ बलमा ३ चौका र २ छक्काको सहयोगमा नट आउट ३५ रन जोडेका थिए ।
गुणकेश मोटीले १४ बलमा ४ चौका र २ छक्काको सहयोगमा ३३ रन बनाउदा कप्तान रोभमन पावेलले १० बलमा १८ रन बनाएका थिए । इङ्ग्ल्याण्डका लागि सकिब मोहम्मदले ४, आदिल राशिदले ३ तथा जेम ओभरटन र लियम लिविङस्टोनले समान १ विकेट लिए । दुई देशबीचको दोस्रो टि ट्वान्टी आई खेल सोमवार बिहान रहेको छ ।
प्रतिक्रिया