वैदेशिक रोजगारबाट फर्किएर कृषिमा रमाउँदै जयसवाल
काठमाडौँ, २३ कात्तिकः वैदेशिक रोजगारका लागि इजरायल जानुभएका रामग्राम–५ का ४५ वर्षीय नरेश जयसवालले स्वदेश फर्किएपछि व्यावसायिक रूपमा कृषि पेसामा आबद्ध हुनुभएको छ । पाँच वर्ष इजरायल बसेर फर्केपछि दुई वर्षदेखि उहाँले व्यावसायिक कृषि पेसा गर्दै आउनुभएको हो ।
जीविकोपार्जन र आम्दानीका लागि विदेश जानुभन्दा स्वदेशमा कृषिकर्मबाट मनग्ये आम्दानी गर्न सकिने जयसवालले बताउनुभयो । वार्षिक रु एक हजारका दर जग्गा भाडामा लिएर खेती सुरु गरेको भन्दै पाल्हीनन्दन गाउँपालिका र रामग्राम नगरपालिकाभित्रका जग्गाधनीसँग सम्झौता गरेर ३५ बिघा जग्गामा धानखेती गरिरहेको उहाँले जानकारी दिनुभयो ।
यस वर्ष एक सय टन धान उत्पादन भएको जनाउँदै जयसवालले ३५ बिघामध्ये २९ बिघा भाडामा लिएको र बाँकी छ बिघा पैतृक सम्पत्ती रहेको बताउनुभयो । सो जग्गामा सावित्री, रामधान, चैते–५ लगायत जातका धान लगाएको उहाँको भनाइ छ ।
कृषि खेतीमा आफूलाई लुम्बिनी प्रदेश सरकार कृषि निर्देशनालयले गत वर्ष उत्कृष्ट कृषकका रूपमा रु ५१ हजारसहित पुरस्कार प्रदान गरेको जयसवालले जानकारी दिनुभयो । पुरस्कारपछि आफूलाई थप हौसला मिलेको उहाँले उल्लेख गर्नुभयो ।
बिउ उत्पादन गर्न जयसवालले नवलपरासीमा ‘आरोही सिड्स’ कम्पनी सञ्चालन गर्नुभएको छ । उक्त कम्पनीबाट आधुनिक जातका धान, मकैलगायतका बिउ स्थानीयलाई उपलब्ध गराउँदै आइएको जिल्लास्थित कृषि ज्ञान केन्द्रका प्रमुख डा रवीन्द्रनाथ चौबेले बताउनुभयो ।
पछिल्लो समय यहाँका किसानको व्यावसायिक कृषिमा आकर्षण बढन थालेको पाल्हीनन्दन गाउँपालिका–२ का वडाध्यक्ष जगदिश गुप्ताले बताउनुभयो । केहीवर्ष अघिसम्म जीविकोपार्जनका लागि मात्र परम्परागत खेती गर्दै आएका यहाँका किसान अहिले व्यावसायिक खेतीमा आबद्ध हुन थालेका उहाँको भनाइ छ ।
प्रतिक्रिया