ट्रम्प राष्ट्रपति विजयी भएको दुई दिनपछि पुटिनले दिए बधाई, के भने ?

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति विजयी भएका डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन् ।

रुसको सरकारी समाचार एजेन्सी टासका अनुसार राष्ट्रपति पुटिनले बिहीबार भल्दाई इन्टरनेशनल डिस्कसन क्लबमा आयोजित एक कार्यक्रममा ट्रम्पलाई बधाई दिएका हुन् । 

समाचारमा जनाइएअनुसार पुटिनले आफ्नो बधाई सन्देशमा भने, 'म उहाँ (डोनाल्ड ट्रम्प) अमेरिकी राष्ट्रपति चुनावमा विजयी भएकोमा बधाई दिन चाहन्छु। मैले पहिले नै भनेको छु कि हामी अमेरिकी जनताले विश्वास गर्ने राष्ट्र प्रमुखसँग काम गर्नेछौं।'

पुटिनले ट्रम्पलाई साहसी व्यक्तिको रूपमा वर्णन गरे । पुटिनले युक्रेन युद्ध अन्त्य गर्न सहयोग गरेको ट्रम्पको दाबीमा पनि ध्यान दिनुपर्ने बताए ।

 

आफ्नो चुनावी अभियानका क्रममा पनि ट्रम्पले युक्रेन युद्ध अन्त्य गर्न सक्नेजस्ता दाबी धेरै पटक गरेका थिए । जब पुटिनलाई उनी ट्रम्पसँग वार्ताका लागि तयार छन् ? भन्दै सोधिएको थियो, जवाफमा उनले 'हो' भने । रुसी राष्ट्रपतिको बधाई सन्देश ट्रम्पको विजयको करिब दुई दिनपछि आएको हो ।