क्यानडामा टिकटकको व्यापारमाथि लाग्याे प्रतिबन्ध

 ​क्यानडाले राष्ट्रिय सुरक्षामा सम्भावित जोखिम देखाउँदै टिकटकको व्यापार देशभित्र बन्द गर्ने निर्णय गरेको छ । संघीय सरकारले बुधवार चिनियाँ कम्पनी टिकटकको राष्ट्रिय सुरक्षा सम्बन्धी समीक्षा गरेपछि यो निर्णय लिएको हो ।

क्यानडाका नवप्रवर्तन मन्त्री फ्रान्स्वा फिलिप श्याम्पेनका अनुसार, टोरन्टो र भ्यानकुभरस्थित टिकटकका कार्यालयहरू बन्द गरिनेछन् । सीबीसी न्युजसँगको कुराकानीमा उनले टिकटकले राष्ट्रिय सुरक्षाका लागि खतरा निम्त्याउन सक्ने निष्कर्षमा सरकार पुगेको बताए ।

यद्यपि सरकारको निर्णयले व्यक्तिगत प्रयोगकर्तालाई टिकटक एप प्रयोग गर्न प्रतिबन्ध भने गर्दैन । नागरिकहरूले व्यक्तिगत रूपमा टिकटक चलाउन सक्नेछन्, तर सुरक्षाका उपाय अपनाउन आग्रह गरिएको छ ।

टिकटकका प्रवक्ताले यस निर्णयलाई चुनौती दिँदै कानुनी लडाईं लड्ने योजना रहेको बताएका छन् । यसअघि २०२३ फेब्रुअरीमा क्यानडाले सरकारी उपकरणहरूमा टिकटक प्रतिबन्ध लगाएको थियो, जसपछिको समीक्षा परिणामस्वरूप यो निर्णय आएको हो ।

विश्वभर टिकटकलाई डेटा सुरक्षा र गोपनीयता सम्बन्धी विवादको सामना गर्नुपरेको छ, जसमा विभिन्न देशहरूले डेटा चिनियाँ सरकारको पहुँचमा पुग्नसक्ने दाबी गर्दै आएका छन् । टिकटकले भने आफ्नो सर्भर चीनबाहिर रहेको र कुनै पनि प्रकारको सरकारी नियन्त्रणमा नरहेको स्पष्ट पार्दै आएको छ ।