राष्ट्रपतिद्वारा गुह्येश्वरीमा छठी माताको पूजा आराधना

काठमाडौँ, २२ कात्तिकः राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वका अवसरमा पशुपति क्षेत्रस्थित गुह्येश्वरीमा निर्माण गरिएको छठ घाटमा पुगी छठी माताको पूजा आराधना गरी सूर्यलाई अघ्र्य दिनुभएको छ ।

प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठीका दिन मनाइने छठ पर्वका अवसरमा राजधानीका गुह्येश्वरी र कमलपोखरीमा हुने छठ पूजामा राष्ट्राध्यक्षका रुपमा राष्ट्रपति पनि सहभागी हुने परम्परा रही आएको छ । राष्ट्रपति  पौडेललाई  गुह्येश्वरी छठ पूजा समितिका पदाधिकारी र सदस्यले स्वागत गर्नुभएको थियो । 

गुह्येश्वरीस्थित वाग्मती किनारमा करिब सात सय छठ पूजा स्थल निर्माण गरिएको छ । छठ पूजास्थललाई आकर्षक रुपमा सजाइएको छ ।

कार्तिक शुक्ल षष्ठीका अवसरमा आज अस्ताउँदो सूर्यलाई अघ्र्य दिइँदै छ । कार्तिक शुक्ल चौथीका दिनदेखि सुरु भएको छठ पर्वको आज मुख्य दिन हो । आज निराहार व्रत बसेका बर्तालुले अस्ताउँदो सूर्यलाई अघ्र्य दिई रातभर छठ घाटमै जाग्राम बस्ने गर्छन् । छठको विधि भने कोजाग्रत पूर्णिमाका भोलिपल्ट अर्थात् कार्तिक कृष्ण प्रतिपदादेखि नै सुरु भएको हो ।

कार्तिक शुक्ल सप्तमीका अवसरमा शुक्रबार बिहान उदाउँदा सूर्यलाई अघ्र्य दिएपछि चार दिन लामो छठको व्रत विधि समापन हुन्छ । गुह्येश्वरी क्षेत्रमा छठ पर्व मनाउन आउने भक्तजनको घुइँचो छ । मित्रपार्क चोकदेखि नै भक्तजन गुह्येश्वरी जाने लाममा लागेका छन् । यहाँको छठ पूजाको व्यवस्थापन गुह्येश्वरी छठ पूजा समितिले गर्दै आएको छ ।