चुनाव हारेर मन जितेकि कमला ह्यारिस
चुनावी प्रतिस्पर्धामा उत्रिएपछि हार-जित स्वभाविक हो, तर कहिलेकाही चुनावको परिणाम विशेष हुने गर्छ । अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा वर्तमान उपराष्ट्रपति तथा डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसको पराजय अहिले चर्चामा छ।
भूतपूर्व राष्ट्रपति तथा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पसँग कमलाले फराकिलो हार ब्यहोरिन्, जुन अपेक्षित थिएन । दुई उम्मेदवारबीच कडा प्रतिष्पर्धा हुने र एकजनाले झिनो मतान्तरले जित्ने चुनावपूर्व प्रक्षेपण गरिएको थियो । तर, कूल ५४० मध्ये २९५ इलेक्टोरल भोटसहित ट्रम्पले बाजी मारे ।
भनिन्छ इतिहास जित्नेहरुको लेखिन्छ, भलै पराजित हुनेले जत्ति नै उत्कृष्ट पर्फमेन्स गरेकाे हाेस् । तर, कमला ह्यारिसले भने अमेरिकी राजनीतिमा गतिलो प्रभाव पारेको अन्तराष्ट्रिय कुटनीतिका जानकारहरु बताउछन् ।
ह्यारिसले किन चुनाव हारिन् ? अनेकौ कारण होलान् । तर, एक महिलाले अमेरिकाको राजनीतिमा यति ठूलो प्रभाव पार्नु र युवा पुस्तामा लोभलाग्दो क्रेज बनाउनुलाई कुटनीतिक विश्लेषक एलिनोर अस्ट्रमले जितको संज्ञा दिएका छन् । अस्ट्रमको भनाई उदृत गर्दै न्युयोर्क टाइम्सले लेखेको छ, ‘ह्यारिसले हार्नुका कारणहरुबारे पक्कै पनि डेमोक्रेटिकले पार्टीले आत्मसमीक्षा गर्ला, तर यो सत्य हो कि ह्यारिसको हार साधारण हार होइन, यो असाधारण हार हो । उनीजस्तो दृढ, आत्मविश्वासी र भिजनरी मैले अरु कुनै महिला नेतृमा देखेको छैन ।’
त्यसो त, ह्यारिसले निर्वाचनमा पराजित भए पनि आफूले उठाएका एजेण्डाका लागि लडिरहने बताएकी छन् । गएराति मतदाता, सर्मथक तथा शुभचिन्तकहरुलाई छोटो सम्बोधन गर्दै उनले महिला अधिकार र हिंसाविरुद्धको लडाइँ जारी रहने घोषणा गरिन् ।
समर्थकहरुलाई हार स्वीकार गर्न आग्रह गर्दै उनले भनेकी छन्, ‘लोकतान्त्रिक सौन्दर्यको लागि हामीले चुनावको नतिजालाई स्वीकार गर्नुपर्छ । मैले डोनाल्ड ट्रम्पलाई बधाई दिइसकेँ । अब शान्तिपूर्णरुपमा सत्ता हस्तान्तरणको समय आएको छ ।’
ह्यारिसलाई मतदान गर्नेहरु अधिकांश युवा मतदाता रहेको बताइन्छ । चुनाव हारेपछि निराश ती मतदातालाई धैर्य गर्न आग्रह गर्दै उनले भनिन्, ‘कहिलेकाहीँ लडाइँ लामो समयसम्म चल्नसक्छ, तर यसको मतलब यो होइन कि हामीले जित्न सक्दैनौँ । धैर्य गरौ, तपाईहरुको यो साथ र सहयोग खेर जानेछैन ।’
त्यस्तै, पूर्वराष्ट्रपति बारक ओबामाले पनि ट्रम्पको जितमा आश्चार्य व्यक्त गरेका छन् । ह्यारिसको साहसप्रति गर्व गर्दै उनले भनेका छन्, ‘यो हामीले अपेक्षा गरेको परिणाम हैन । ह्यारिसले हारे पनि मलाई उनीप्रति सधैँ गर्व रहनेछ ।’
ह्यारिसले चुनाव हारे पनि कराेडाैँ जनताकाे मन जितेकाे ओबामाकाे तर्क छ ।
प्रतिक्रिया