बाइडेनले राष्ट्रपतीय चुनाव जितेका ट्रम्पलाई बधाई दिँदै ह्वाइट हाउसमा बोलाए

अमेरिकाकाका वर्तमान राष्ट्रपति जो बाइडेनले देशमा भर्खरै सम्पन्न राष्ट्रपतीय चुनाव जितेका डोनाल्ड ट्रम्पलाई बधाई दिँदै ह्वाइट हाउसमा बोलाएका छन्।  

बीबीसीका अनुसार राष्ट्रपति बाइडेनले ट्रम्पलाई फोन गरी बधाई दिँदै सत्ता हस्तान्तरण प्रक्रियाबारे छलफल गर्न ह्वाइट हाउस आमन्त्रण गरेको ट्रम्पको अभियानले जनाएको छ।

ट्रम्प अभियानका प्रवक्ता स्टिभन चाङले भने– ट्रम्प छिट्टै हुने बैठकको प्रतीक्षामा हुनुहुन्छ र उहाँले उक्त फोनको धेरै प्रशंसा गर्नुभएको छ। 

अमेरिकी राष्ट्रपति चुनावको परम्पराअनुसार वर्तमान राष्ट्रपतिले सामान्यतया नयाँ राष्ट्रपतिलाई ह्वाइट हाउसमा निम्तो र स्वागत गर्ने गर्छन्। 

त्यसपछि दुवै जना शपथग्रहण समारोहका लागि राजधानी वासिङ्टन डिसी प्रस्थान गर्छन्। तर, सन् २०२० मा भएको चुनावमा बाइडेनसँग हारेपछि ट्रम्पले यो परम्परा पालना गरेनन्। बरु उनले चुनावमा धाँधली भएको भन्दै अदालतमा मुद्दा हालेका थिए तर जितेनन्।