युद्धमा हारेको होइन, लम्बिएको हो, कहिल्यै हार खानु हुँदैन : ह्यारिस

अमेरिकी राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्पसँग हारेपछि कमला ह्यारिसले युद्धमा हारेको नभई युद्ध लम्बिएको टिप्पणी गरेकी छन् । उपराष्ट्रपति तथा डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमलाले हार स्विकार्दै समर्थकलाई सम्बोधन गर्नेक्रममा भनिन्, ‘यो दल र उम्मेदवारको पक्षको कुरा होइन । यो संविधान रक्षाको कुरा हो ।’

करिब आधा घण्टाको सम्बोधनमा कमलाले आफूले चुनावी नतिजा स्विकार्दै शान्तिपूर्ण रूपमा शक्ति हस्तान्तरण गर्ने बताइन् । उनले विजेता ट्रम्पलाई फोन गरेर बधाई दिएको पनि जानकारी दिइन् । उनले चुनावी अभियानमा लाग्दा यो नतिजा नसोचेको बताइन् ।

उनले महिलाले आफ्नो शरीरमा के गर्ने भन्नेमा अरूले नभएर महिलाले नै निर्णय लिनुपर्ने बताउँदै युद्ध सडकबाट अदालतसम्म जारी हुने बताइन् ।

रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्पसँग पराजित भएपछि एक सम्बोधन गर्दै उनले आफ्ना समर्थकलाई आफ्नो आदर्शका लागि कहिल्यै हार नखान र डोनाल्ड ट्रम्पको जित स्वीकार गर्न आग्रह गरेका हुन् ।

‘चुनावको परिणाम जे आयो त्यो हामीले चाहेकोजस्तो थिएन, उनले भने, ‘तर हामीले चुनावी नतिजालाई सम्मान गर्नुपर्छ । अब सत्ता शान्तिपूर्ण रूपमा हस्तान्तरण हुनुपर्छ ।’

आफ्ना समर्थकको निराशा चिर्न ह्यारिस चुनावी अभियान गीतसँगै मञ्चमा पुगेका थिए । सो क्रममा उनले आफ्ना रनिङ मेट, मिनेसोटा राज्यका गर्भनर टिम वाल्ज, अभियान कर्मचारी, समर्थक, पोल वर्कर र चुनावी अधिकारीलाई धन्यवाद दिए ।

उनको भाषणका दौरान धेरैजसो समर्थक आँसु पुछ्दै गरेका देखिएका थिए । चुनावमा हार हुनका बाबजुद पनि आफूले उठाएका मुद्दाहरूका लागि संघर्ष जारी राख्ने ह्यारिसले प्रतिबद्धता जनाएका छन् । जसका लागि आफूले अभियान चलाउने घोषणा पनि उनले गरे ।