आइपिएलको मेगा अक्सन साउदी अरबमा हुने
इण्डियन प्रिमियर लिग (आइपिएल) को मेगा अक्सन २४ र २५ नोभेम्बरमा साउदी अरेबियाको जेद्दाहमा हुने भएको छ । गत वर्ष दुबईमा मिनी अक्सन भएको थियो, अहिले साउदी अरबमा मेगा अक्सन हुन लागेको छ । लिलामीका लागि १५७४ खेलाडी दर्ता भएका छन् ।
दिल्ली क्यापिटल्सबाट रिलिज भएका ऋषभ पन्त, लखनउ सुपर जायन्ट्सका पूर्वकप्तान केएल राहुल र च्याम्पियन कोलकाता नाइट राइडर्सका कप्तान श्रेयस अय्यरका लागि ठूलो बोलीको अपेक्षा गरिएको छ । पन्त अन्तिम पटक २०१६ मा, राहुल २०१८ मा र श्रेयस २०२२ आइपिएलअघि लिलामीमा प्रवेश गर्नुभएको थियो ।
१० टोलीमा २०४ खेलाडीहरू खाली भएकाले आइपिएल समितिले मेगा लिलामी अघि खेलाडीहरू राख्ने मिति अक्टोबर ३१ तय गरेको थियो । १० टोलीले ४६ खेलाडी राखेका छन् । त्यसपछि २०४ खेलाडीको स्थान खाली भएको हो । यी स्थानहरूका लागि १००० भन्दा बढी खेलाडीहरू लिलामीमा प्रवेश गर्नेछन् ।
लिलामीका लागि १५७४ खेलाडी दर्ता भएको बिसिसिआईले जनाएको छ । जसमा ११ सय ६५ भारतीय र ४०९ विदेशी छन् । यसमा एसोसिएट देशका ३० खेलाडी पनि समावेश छन् । विदेशी टोलीमध्ये दक्षिण अफ्रिकामा सबैभन्दा बढी ९१ खेलाडी छन् भने अस्ट्रेलियामा ७६ खेलाडी छन् ।
पञ्जाबले यसपटक खेलाडी किन्न १२० करोड रुपैयाँको पर्स दिएको छ । दुई खेलाडीमात्रै रिटेन गरेका कारण पञ्जाब किंग्ससँग अधिकतम ११०.५० करोड रुपैयाँ बाँकी छ । अन्य सबै टोलीको पर्स ८५ करोडभन्दा कम छ । राजस्थान रोयल्सले ६ खेलाडीलाई रिटेन गर्न ७९ करोड रुपैयाँ खर्च गरेपछि कम्तीमा ४१ करोड रुपैयाँ बाँकी छ । हैदरावाद र मुम्बईले ५-५ अन्तर्राष्ट्रिय खेलाडी रिटेन गरेकाले उनीहरूसँग ४५ करोड रुपैयाँ बाँकी छ ।
आइपिएलको मेगा लिलामी चार वर्षमा एकपटक हुन्छ । यसैबीच, मिनी लिलामीहरू प्रत्येक वर्ष आयोजित हुन्छन् । गत वर्षमात्र दुबईमा एउटा सानो लिलामी भएको थियो, जसमा अस्ट्रेलियाका मिचेल स्टार्कलाई २४.७५ करोड र प्याट कमिन्सलाई २०.५० करोडमा किनेका थिए ।
रिटेन्सन डेडलाइनअघि सनराइजर्स हैदरावादले विकेटकिपर ब्याट्सम्यान हेनरिक क्लासेनलाई २३ करोडमा रिटेन गरेको थियो । उहाँ रिटेन्सनमा सबैभन्दा महँगा खेलाडी हुनुहुन्छ । उहाँपछि एलएसजीले निकोलस पुरनलाई रिटेन गरेको छ भने आरसिबीले विराट कोहलीलाई २१ करोडमा रिटेन गरेको छ । पाँच टोलीलाई कप्तान चाहिन्छ । च्याम्पियन्स कोलकाता र दिल्लीले आफ्ना युवा कप्तानलाई रिहा गरेका छन् । कोलकातासँग आरटिएम कार्ड पनि बाँकी छैन ।
दिल्लीसँग निश्चितरूपमा दुई आरटिएम कार्डहरू बाँकी छन्, यसका साथ टोलीले लिलामीमा प्रवेश गरेपछि पनि ऋषभ पन्तलाई साथमा राख्न सक्छ । यी बाहेक बैंगलुरुले फाफ डु प्लेसिस, लखनउले केएल राहुल र पञ्जाबले साम कुरानलाई रिहा गरेको छ । विराट कोहलीले बैंगलुरुमा कप्तानी गर्न सक्नुहुनेछ भने बाँकी चार टोलीले कप्तान किन्नुपर्नेछ ।
चार टोलीमा विकेटकिपर नभएको मेगा अक्सनमा ६ टोलीले मात्रै विकेटकिपर ब्याट्सम्यान राखेका थिए । लिलामीमा पन्त, राहुल, जोस बटलर, इशान किशन, फिल साल्ट, क्विन्टन डी कक, रहमानउल्लाह गुरबाज, ग्लेन फिलिप्स, जोनी बेयरस्टो र जितेश शर्माजस्ता विकेटकिपर छनोट गर्न ठूलो बोली लाग्नेछ । यीमध्ये बैंगलुरु, कोलकाता, गुजरात र मुम्बईका टोलीहरूले विकेटकिपरका लागि ठूलो बोली लगाउनेछन् किनभने चारैले विकेटकिपर राखेका छैनन् । योसँगै चेन्नई धोनीको ब्याकअप किन्न चाहन्छ । बाँकी पाँच टोलीलाई पनि ब्याकअप विकेटकिपरको आवश्यकता पर्नेछ ।
नेपाली खेलाडीले रजिस्ट्रेसन गराएनन् !
आइपिएल २०२५ का लागि नेपाली खेलाडीले रजिस्ट्रेसन गरेका छैनन् । आइपिएलले मंगलबार जारी गरेको रजिस्ट्रेसन खेलाडीको सूचीमा नेपाली खेलाडीको सहभागिता छैन । सोमबारसम्म खुला भएको खेलाडी रजिस्ट्रेसनमा कुल एक हजार ५७४ खेलाडीले आफूलाई सूचीकृत गरेका हुन् । जसमा सबैभन्दा धेरै भारतबाट एक हजार १६५ तथा विदेशी खेलाडीमा ४०९ खेलाडीले आफ्नो नाम दर्ता गरेका छन् ।एसोसिएटतर्फ नेदरल्याण्ड्सका सर्वाधिक १२, अमेरिकाका १०, क्यानडाका चार, स्कटल्याण्डका दुई तथा युएई र क्यानडाका समान एक खेलाडीले आफ्नो नाम दर्ता गरेका छन् ।
प्रतिक्रिया