ट्रम्प राष्ट्रपति भएपछि बिटक्वाइनको मूल्यमा उच्च रेकर्ड

 अमेरिकी राष्ट्रपतीय निर्वाचनको परिणाम डोनाल्ड ट्रम्पको पक्षमा आउन थालेसँगै बिटक्वाइनको भाउले उच्च रेकर्ड बनाएको छ भने युरोपेली शेयर बजारमा उछाल आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

ट्रम्पले संयुक्त राज्य अमेरिकालाई ‘बिटक्वाइन र क्रिप्टोकरेन्सीको राजधानी’ बनाउने र टेक अर्बपति एलन मस्कलाई सरकारी फोहोरको व्यापक अडिटको जिम्मा दिने वाचा गरेका थिए । त्यसैले बिटक्वाइनको भाउमा उच्च रेकर्ड बनेको हो ।

अर्थशास्त्री तथा बजार विश्लेषकहरुले बजारहरू पछि के हुन्छ बिश्लेषकहरूले पत्ता लगाउने कोसिस गरिरहेको तर, केही समयको लागि बजारले उच्च वृद्धि र उच्च मुद्रास्फीति दृष्टिकोणबाट मूल्य निर्धारण गरिरहेको बताएका छन्

ट्रम्पको समर्थनमा खरो उत्रिएका एलन मस्कको कम्पनी टेस्लाको शेयरमा १२ प्रतिशतको उछाल आइसकेको छ । मस्कले ट्रम्पको चुनावी प्रचार प्रसारका लागि हरेक दिन १० लाख डलरका दरले खर्च गरेका थिए ।

राष्ट्रपति निर्वाचित ट्रम्पलाई विश्वभरका सरकार प्रमुखहरुले बधाई दिँदै सहकार्यका लागि आतुर रहेको सन्देश पठाइरहेका छन् ।

२०१६ मा पहिलोपटक राष्ट्रपति निर्वाचित भएका ट्रम्प २०२० को निर्वाचनमा पराजित भएका थिए । २०२४ मा पुन: राष्ट्रपतिको उम्मेदवार बनेका उनले डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसलाई पराजित गर्दै दोस्रो कार्यकालका लागि बाजी मारेका हुन् ।

अमेरिकामा बढीमा दुई पटक मात्रै राष्ट्रपति बन्न पाउने संवैधानीक व्यवस्था छ ।