फुटबल मैदानमा सेतो सुँगुरको टाउको

 विश्वमै सबैभन्दा लोकप्रिय खेल फुटबलका दौरान अनेक रोचक घटना हुने गरेका छन् ।

मंगलबार ब्राजिलमा सम्पन्न एक क्लबस्तरीय भिडन्तमा एउटा रोचक घटना हुन पुगेको छ।ब्राजिल सिरि ए अन्तर्गत दुई चिरप्रतिद्वन्द्वीबीच स्थानीय समयअनुसार सोमबार राति भएको भिडन्तका क्रममा मैदानमा काटिएको सुँगुरको सेतो टाउको फ्याँकिएको हो ।

दुई प्रतिद्वन्द्वी क्लबहरू कोरिन्थियान्स र पाल्मेइरासबीचको बहुचर्चित भिडन्तका क्रममा सुँगुरको टाउको एकजना समर्थकले मैदानमै फ्याँकेका हुन् ।

कोरिन्थियान्सका फ्यान सुँगुरको टाउको फ्याँकेको यस प्रकरणमा पुलिसले छानबिन पनि थालिसकेको छ । पुलिसले कोरिन्थियान्स र पाल्मेइरासबीचको खेलमा सुँगुरको टाउको फ्याँकिएको घटनालाई एक गम्भीर र भयानक भनेको छ ।

पाल्मेइरासका राफेल भेइगाले कर्णर बल प्रहार गर्न लागेका बेलामा सुँगुरको टाउको मैदानमा फ्याँकिएको थियो। त्यो सुँगुरको टाउकोलाई तत्कालै कोरिन्थियान्सका युरी अल्बर्टोले लात्ती हानेर मैदानबाहिर पठाइदिए ।

अल्बर्टोले खेलपछि ग्लोबो एस्पोर्टेलाई भने, ‘मेरो खुट्टो करिब करिब भाँच्चिएको थियो । मैले त्यो कुने सिरानेको खोल होला भनेर लात्ती हानेको थिएँ तर त्यो त सुँगुरको टाउको रहेछ । मैले त्यसलाई लात्ती हान्दा आफैंलाई चोट पुर्‍याएँ ।’

यस प्रकरणमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । तर उनीहरूबारे ठोस प्रमाण नभएपछि तत्कालै रिहा गरिएको प्रहरीले जनाएको छ। प्रहरीले सुँगुरको टाउको कोरिन्थियान्स स्टेडियम नियो क्युमिका एरिनाको मैदानसम्म कसरी पुग्यो भन्नेबारेमा अनुसन्धान जारी रहेको जनाएको छ ।

दुई दशकअघि स्पेनमा पनि यस्तै घटना भएको छ । २२ वर्षअघि स्पेनिस ला लिगा अन्तर्गत रियल मड्रिड र बार्सिलोनाको भिडन्तका क्रममा पनि सुँगुरको टाउको मैदानमा फ्याँकिएको थियो ।

त्यसबेला पोर्चुगिज विङ्गर लुइस फिगोले बार्सिलोना छाडेर रियल मड्रिड गएपछि भएको भिडन्तका क्रममा पनि सुँगुरको टाउको फ्याँकिएको थियो । त्यस्तै प्रकृतिको घटना २२ वर्षपछि ब्राजिलमा दोहोरिएको हो।