अफगानिस्तानमा दादुराका बिरामी उच्च
अफगानिस्तानमा सन् २०२४ मा दादुराका केसहरू बढ्दै गएको छ । यहाँ छ हजार केस पत्ता लागेका देशको जनस्वास्थ्य मन्त्रालयले जनाएको छ ।
“सन् २०२४ मा १० हजार शङ्कास्पद दादुराका घटनामध्ये लगभग छ हजार मानिसमा दादुरा देखा परेको छ । यो सन् २०२३ को तुलनामा वृद्धि भएको हो”, मन्त्रालयका प्रवक्ता शराफत जमान अमरखिलले भन्नुभयो ।
उक्त रोगको प्रकोप रोक्न मन्त्रालयले देशभर दादुरा खोप अभियान सञ्चालन गर्ने योजना बनाएको अमरखिलले जानकारी दिनुभयो ।दादुराबाट बच्ने सबैभन्दा प्रभावकारी उपाय खोप हो । दादुरा भाइरसबाट लाग्ने अत्यन्तै सङ्क्रामक रोग हो । सङ्क्रमित व्यक्तिले सास फेर्दा, खोक्दा वा हाच्छिउँ गर्दा यो सजिलै फैलिन्छ ।
दादुराबाट सङ्क्रमित व्यक्तिले आफूसँग नजिकको सम्पर्कमा आएका १० जनामध्ये खोप नदिइएका नौ जनालाई सङ्क्रमण गर्न सक्छ ।
प्रतिक्रिया