जर्मनीकी शीर्ष कूटनीतिज्ञ किएभमा, अमेरिकी चुनावले युद्धमा पार्नसक्ने प्रभावका लागि युक्रेन तयार

जर्मनीकी शीर्ष कूटनीतिज्ञ सोमबार अघोषित भ्रमणमा युक्रेनी राजधानी किभ पुग्नुभएको छ । यो भ्रमण अमेरिकी राष्ट्रपति चुनावको पूर्वसन्ध्यामा युक्रेनप्रति युरोपेली समर्थनको प्रदर्शनका रूपमा देखिएको छ । अमेरिकी चुनावले रुसको पूर्ण आक्रमणप्रति वाििङ्टनको नीतिमा व्यापक परिवर्तन ल्याउन सक्छ ।

जर्मनी अमेरिकापछि युक्रेनको दोस्रो ठूलो हतियार आपूर्तिकर्ता हो । जर्मन विदेशमन्त्री अन्नालेना बेयरबकले बर्लिनको समर्थन अटल रहने प्रतिबद्धता जनाउनुभयो ।जर्मन समाचार एजेन्सी डिपिएका अनुसार उहाँले भन्नुभयो, “विश्वभरका धेरै साझेदारहरूसँगै जर्मनी दृढतापूर्वक युक्रेनको साथमा छ । हामी युक्रेनीहरूलाई त्यतिबेलासम्म समर्थन गर्नेछौँ जतिबेलासम्म उनीहरूलाई न्यायपूर्ण शान्तिको बाटोमा अघि बढ्न आवश्यक पर्छ ।”

युक्रेनका लागि युद्ध महत्त्वपूर्ण मोडमा छ । रुसी सेनाले युद्धभूमिमा विस्तारै प्रगति गरिरहेको छ र रुसले युक्रेनी विद्युत् प्रणालीमा निरन्तर आक्रमण गरिरहेकाले अर्को कठोर जाडो आउँदैछ ।

अमेरिकी मतदानअघि युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले युक्रेनका पश्चिमी समर्थकहरूलाई दीर्घकालीन ‘विजय योजना’ मा बाँध्ने प्रयास गर्नुभयो । यसमा युक्रेनलाई नाटोमा औपचारिक आमन्त्रण र रुसमा सैन्य लक्ष्यहरूमा आक्रमण गर्न पश्चिमी लामो दूरीका क्षेप्यास्त्र प्रयोग गर्ने अनुमति समावेश थियो तर किएभका अधिकारीहरूका लागि प्रतिक्रिया निराशाजनक रह्यो ।

रुसले आफ्नो राम्रो सङ्ख्याको प्रयोग गरेर अग्रपङ्क्तिमा युक्रेनी स्थितिहरूमा दबाब बढाइरहेको छ । युक्रेनका शीर्ष कमान्डर जनरल ओलेक्जान्डर सिर्स्कीले शनिबार उहाँका सैनिकहरू युद्धको ‘सबैभन्दा शक्तिशाली (रुसी) आक्रमणहरू’ मध्ये एकलाई रोक्न सङ्घर्ष गरिरहेको बताउनुभयो ।

पश्चिमी गुप्तचर स्रोतहरूका अनुसार रुसले अब आफ्नो आक्रमणमा मस्कोसँगको सम्झौताअन्तर्गत प्योङयाङले पठाएका करिब १० हजार उत्तर कोरियाली लडाकू सैनिकहरूको बल थपिरहेको छ ।यसले जेलेन्स्कीको पश्चिमी सहयोगप्रतिको कुण्ठा बढाएको छ । उहाँले शनिबार सहयोगीहरूलाई ‘हेरिरहन’ छोडेर उत्तर कोरियाली सैनिकहरू युद्धभूमिमा पुग्नुअघि कदम चाल्न आग्रह गर्नुभयो ।

जेलेन्स्कीले भन्नुभयो, “उत्तर कोरियाली सैनिकहरूलाई कुन रुसी शिविरहरूमा तालिम दिइँदैछ भन्ने किएभलाई थाहा छ तर रुसभित्र गहिरो लक्ष्यहरूमा आक्रमण गर्न पश्चिमी–निर्मित लामो दूरीका हतियारहरू प्रयोग गर्न सहयोगीहरूको अनुमतिबिना युक्रेनले तिनीहरूमाथि आक्रमण गर्न सक्दैन ।”

अधिकारीहरूका अनुसार बेयरबक किभ पुगेको केही घन्टापछि हवाई सुरक्षाद्वारा अवरोध गरिएका ड्रोनका अवशेषहरू शहरका दुई जिल्लामा खस्दा साना आगलागीहरू भए । किएभ शहर प्रशासनका प्रमुख सेर्हिई पोप्कोका अनुसार आक्रमणबाट कुनै मानिस वा सम्पत्तिमा क्षति पुगेन ।

क्षेत्रीय प्रहरीका अनुसार आइतबार राति रुसी ग्लाइड बम आक्रमणमा उत्तरपूर्वमा रहेको युक्रेनको दोस्रो ठूलो शहर खार्किभमा १५ जना घाइते भए ।युक्रेनी वायु सेनाका अनुसार रुसले राति युक्रेनी शहरहरूमा करिब ८० शाहेद ड्रोन प्रहार गरेको थियो ।