स्पेनका राजालाइ बाढी पीडित नागरिकले गरे दुर्व्यवहार
स्पेनका राजा फिलिप छैटौंलाई बाढीग्रस्त क्षेत्र भ्यालेन्सिया क्षेत्रको भ्रमणको क्रममा रुष्ट बाढी पीडित नागरिकले दुर्व्यवहार गरेका छन् ।
बीबीसीका अनुसार बाढीबाट नराम्ररी प्रभावित उक्त क्षेत्रको भ्रमणमा पुगेका राजा फिलिपलाई रुष्ट भिडले ‘हत्यारा’ र ‘लाच पचाएको’ भन्दै माटो फ्याँकेका छन् । बाढी प्रभावित क्षेत्रमा आउन राजाले ढिला गरेको पनि प्रदर्शनकारीले बताएका छन् ।
क्रोधित बाढी पीडितहरूले राजा फिलिपलाई यस्तो त्रासदी रोक्न केही गरेका थियौ कि थिएनौ भनेर प्रश्न गरेका छन् ।स्पेनमा सोमबार आएको बाढीमा परी दुई सयभन्दा बढीको ज्यान गएको छ भने कैयौं अझै बेपत्ता छन् ।दुःखको यस घडीमा जनता एक अर्काको साथमा उभिएका छन् र पीडितलाई सहयोग गर्न अगाडि बढिरहेका छन् ।
आपतकालीन सेवाका कर्मचारीहरूले कार पार्किङ र सुरुङमा फसेका मानिस र शवहरूको खोजी गर्न निरन्तर काम गरिरहेका छन्।यसैबीच स्पेनका नेताहरूले बाढी प्रभावित क्षेत्र भ्रमण गर्ने राजाको निर्णय गलत रहेको टिप्पणी गरेका छन् ।भ्यालेन्सियाका संसद सदस्य जुआन बोर्डेराले राजा फिलिपको बाढी प्रभावित भ्यालेन्सियाको भ्रमण ‘धेरै नराम्रो निर्णय’ भएको बताएका हुन् ।
‘जनता आक्रोशित हुनु स्वाभाविक हो, उनको भ्रमण किन महत्वपूर्ण छ भन्ने कुरा जनताले नबुझ्नु पनि अस्वभाविक होइन,’ उनले भने ।भ्यालेन्सियाको प्रान्तीय सरकारले पनि भारी वर्षा र बाढीपछिको अवस्थालाई लिएर गम्भीर आलोचनाको सामना गरिरहेको छ ।
अहिलेसम्म सरकारले बेपत्ताको तथ्यांक पनि भन्न सकिरहेको छैन । स्पेनका एक मन्त्रीले मृतकको संख्या धेरै नै बढ्न सक्ने बताएका छन् ।
प्रतिक्रिया