कार्यालयमा आगजनीपछि बङ्गलादेशी पार्टीद्वारा प्रदर्शनकारीहरूको निन्दा

विद्यार्थी नेतृत्वको क्रान्तिद्वारा पदच्युत भएको शासनसँग पहिले नजिक रहेको बङ्गलादेशी पार्टीले शुक्रबार यस्ता प्रदर्शनकारीहरूले राष्ट्रलाई ‘विभाजन गरिरहेको’ बताएको छ । यो वयान बिहीबार राति एक भीडले पार्टीको कार्यालयमा आगो लगाएको एक दिनपछि आएको हो ।

पदच्युत पूर्व नेत्री शेख हसिनाको कार्यकालमा वाणिज्यमन्त्री रहनुभएका जातीय पार्टीका प्रमुख गुलाम मुहम्मद कादरले बिहीबार राति आक्रोशित प्रदर्शनकारीहरूले आगजनी गरेर कार्यालयहरू जलाएको बताउनुभयो ।

“देश अहिले विभाजित छ”, कादरले ढाकामा पत्रकारहरूसँग भन्नुभयो, “देशलाई ‘शुद्ध’ र ‘अशुद्ध’ समूहमा विभाजन गर्दै उनीहरूले अरू सबैलाई बेवास्ता गर्छन्, उनीहरूले को दोषी र को होइन भन्ने निर्धारण गर्छन्, औचित्यका लागि कुनै ठाउँ छोड्दैनन् । एकपटक उनीहरूले कसैलाई दोषी भनेपछि, त्यो अन्तिम हुन्छ ,”

मुख्य विपक्षी दलले बहिष्कार गरेको र हसिनाले लगातार चौथो कार्यकाल जितेको जनवरीको चुनावमा भाग लिएकोमा कादरको जातीय पार्टीको आलोचना भएको थियो । हसिनाको शासनकालमा व्यापक मानव अधिकार उल्लङ्घन भएको थियो । यसमा उहाँका राजनीतिक विरोधीहरूको सामूहिक हिरासत र न्यायबाहिरको हत्या समावेश छन् ।

उहाँको १५ वर्षे स्वेच्छाचारी शासनविरुद्ध महिनौँको विरोध प्रदर्शनपछि उहाँ अगस्ट ५ मा हेलिकोप्टरमार्फत भारत भाग्नुभयो ।विद्यार्थी आन्दोलनका केही शीर्ष नेता अहिले नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वको अन्तरिम सरकारको मन्त्रिमण्डलमा छन् ।

त्यसयता हसिनाका दर्जनौँ समर्थकहरूलाई पक्राउ गरिएको छ ।“उनीहरूले सबै कुरा निर्णय गर्छन् – उनीहरूले तोडफोड गर्न सक्छन्, हाम्रा कार्यालयहरूमा आगो लगाउन सक्छन् र कानूनभन्दा माथि रहन सक्छन्”, कादरले भन्नुभयो ।

हसिनाविरुद्धको विद्रोह सुरु गर्न श्रेय पाएको प्रदर्शनकारी समूह स्टुडेन्ट्स अगेन्स्ट डिस्क्रिमिनेशनका संयोजक हसनत अब्दुल्लाहले बिहीबार समर्थकहरूलाई जातीय पार्टीको कार्यालयमा मार्च गर्न आह्वान गर्नुभएको थियो । उहाँले सामाजिक सञ्जालमा विद्यार्थीहरूलाई ‘राष्ट्रिय गद्दारको सर्वनाश गर्न’ आह्वान गर्नुभएको थियो ।तर समूहकी प्रवक्ता उमामा फातेमाले कुनै पनि कानून तोड्ने कार्यको समर्थन नगरेको बताउनुभयो । “मार्चमा सामेल भएका व्यक्तिहरूमा जिम्मेवारी रहन्छ”, उहाँले शुक्रबार भन्नुभयो ।

वरिष्ठ प्रहरी अधिकृत तालेबुर रहमानले आगजनी आक्रमणको सम्बन्धमा कसैले पनि मुद्दा दर्ता नगरेको बताउनुभयो ।यो घटना संयुक्त राष्ट्र मानवाधिकार प्रमुख भोल्कर टर्कले ढाकामा विद्यार्थीहरूलाई ‘न्यायको पक्षमा उभिने साहसको’ प्रशंसा गरेको केही दिनपछि भएको हो । 

यद्यपि उहाँले आगामी जोखिमहरूको पनि ख्याल राख्नुपर्ने चेतावनी दिनुभएको थियो । “साध्यले साधनलाई उचित ठह¥याउँछ भन्ने विचारदेखि सावधान रहनुहोस्”, टर्कले मङ्गलबार ढाका विश्वविद्यालयमा दिएको भाषणमा भन्नुभयो, “तपाईंले परिवर्तन खोज्ने प्रक्रिया परिणाम जत्तिकै महत्त्वपूर्ण छ । संस्थाहरूलाई भत्काउनुभन्दा तिनलाई सुदृढ बनाउनु लामो अवधिमा बढी महत्वपूर्ण हुन सक्छ ।”