अबको केही वर्षमा मान्छेका सबै काम एआईले गरिदिन्छः एलन मस्क
अर्बपति उद्यमी एलन मस्कले आर्टिफिसियल इन्टेलिजेन्स (एआई)ले अबको केही वर्षमा मान्छेका सबै काम गर्नसक्ने बताएका छन् ।
सुरुवातदेखि नै एआई मानवको हितमा नभएको अभिव्यक्ति दिँदै आएका उनी आफ्नो धारणामा अडिग छन् । उनले हालै एक भर्चुअल कार्यक्रममार्फत २०२८ वा २०२९ सम्ममा मानवले गर्न सक्ने सबै काम एआईले गरिदिने बताएका हुन् ।
मस्कका अनुसार एआई हरेक वर्ष १० गुणा बढी शक्तिशाली हुँदै गएको छ । उनले भने, “अबको चार वर्षमा उनीहरू (एआई) मान्छेभन्दा १० हजार गुणा शक्तिशाली हुन्छन् । हुनसक्छ लाखौं गुणा शक्तिशाली पनि हुनसक्छ ।”
हालैमात्र मस्कको एआई स्टार्टअप ‘एक्सएआई’ले विश्वकै सबैभन्दा ठूलो एआई सुपर कम्प्युटर सार्वजनिक गरेको छ । यसमा एक लाख बढी एनभिदिया होपर जीपीयू प्रयोग भएको छ । यसले मस्कको एआई च्याटबट ग्रोकलाई तालिम दिने बताइएको छ ।
केही समयअघि मस्कले टेस्लाको रोबोट्याक्सी कार्यक्रममा स्वचालित ट्याक्सी, भ्यान र टेस्ला अप्टिमस ह्युमोनोइड रोबोट सार्वजनिक गरेका थिए । त्यस्तै उनी फन्ड सङ्कलन गरेर एक्सएआईको भ्यालुएसन ४० अर्ब डलर पुर्याउन चाहन्छन् ।
प्रतिक्रिया