भारत–चीन सीमामा भारतीय सेनाकाे गस्ती
पूर्वी लद्दाखको भारत–चीन सीमामा भारतीय सेनाले गस्ती सुरु गरेको छ । पछिल्लो समय डेम्चोक क्षेत्रमा अनुगमन भइरहेको छ । देप्साङमा छिट्टै गस्ती सुरु हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
हालै यी दुई क्षेत्रबाट पछि हट्न दुवै देशका सेनाबीच सहमति भएको थियो । दीपावलीको अवसरमा बिहीबार पूर्वी लद्दाखको हट स्प्रिङ्स, काराकोरम पास, दौलत बेग ओल्डी, कोंगकला र चुशुल–मोल्डोमा लाइन अफ कन्ट्रोल (एलओसी) मा दुवै देशका अधिकारीहरूले एकअर्कालाई मिठाई खुवाए र बधाई दिएका थिए ।
संसदीय मामिलामन्त्री र अल्पसंख्यक मामिलामन्त्री किरेन रिजिजुले अरूणाचल प्रदेशको बुमला पासमा चिनियाँ सैनिकहरूसँग कुराकानी गरेका थिए । रिजिजुले सामाजिक सञ्जालमा यसको भिडियो पनि पोस्ट गरेका छन् ।
गस्तीसम्बन्धी भारत र चीनबीचको सम्झौताबारे विदेशमन्त्री एस जयशंकरले अक्टोबर २७ मा सेना फिर्ता गर्नुलाई पहिलो चरणको कदम भएको बताएका थिए ।
भारत र चीनका सैनिकहरू हट स्प्रिङ्स क्षेत्रमा एउटा पुलमा उभिएर सँगै फोटो खिचेका थिए ।
पूर्वी लद्दाखको सीमा विवादलाई लिएर भारत र चीनबीच चार वर्षदेखि तनाव थियो । दुई वर्ष लामो वार्तापछि हालै सहमति भएको हो । दुवै सेना विवादित नाका देप्साङ र डेम्चोकबाट पछि हट्ने छन् ।
सन् २०२० मा भारत र चिनियाँ सेनाबीच गलवान भिडन्त भएपछि देप्साङ र डेम्चोकमा तनाव भएको थियो । करिब चार वर्षपछि अक्टोबर २१ मा दुई देशबीच नयाँ गस्ती सम्झौता भएको थियो ।
प्रतिक्रिया