रूसी हस्तक्षेपको आरोप प्रत्यारोपबीच मोल्दोभामा राष्ट्रपतिका लागि आइतबार निर्णायक मतदान हुँदै
युरोपेली सङ्घ (इयू) को सदस्यतासम्बन्धी जनमत सङ्ग्रहमा झिनो मतान्तरले जित हासिल गरेको माल्दोभामा दुई सातापछि मस्कोसँग घनिष्ठ सम्बन्ध कायम गर्न चाहने प्रतिद्वन्द्वीसँग आइतबार हुने राष्ट्रपतीय निर्वाचनमा मोल्दोभाकी ब्रसेल्स समर्थक नेतृ माइया सन्दुले कडा प्रतिस्पर्धा गर्नुहुनेभएको छ ।
जर्जियामा मस्को मैत्री सत्तारुढ दललाई सत्तामा फर्काउने विवादास्पद निर्वाचनबाट गुज्रिरहेको अवस्थामा सबैको नजर युद्धग्रस्त युक्रेनसँग सीमा जोडिएको मोल्दोभामा केन्द्रित भएको छ ।
दुवै पूर्व सोभियत राष्ट्रको चुनावमा रूसले हस्तक्षेप गरेको आरोप लागेको छ तर मस्कोले त्यसलाई अस्वीकार गरेको छ ।
इयू पक्षधर सन्दुले गत अक्टोबर २० मा इयूमा सामेल हुने बिषयमा भएको जनमत सङ्ग्रहमा रुस समर्थक विपक्षीहरुले भ्रामक सूचना र मत खरिदमा संलग्न रहेको आरोप लगाइरहेका बेला आफ्नो खेमाले अन्यायपूर्ण सङ्घर्षमा न्यायोचित जित हासिल गरेको बताउनुभएको छ ।
विश्व बैंकका पूर्व अर्थशास्त्री ५२ वर्षीया सन्दुले पहिलो चरणमा करिब ४२.५ प्रतिशत मत प्राप्त गरेपछि दोस्रो चरणको राष्ट्रपतीय निर्वाचनमा आफू ‘कठिन प्रतिस्पर्धा’ मा रहेको स्वीकार्नुभएको छ ।
प्रथम चरणको निर्वाचनमा उहाँका प्रतिद्वन्द्वी, रूसी समर्थक समाजवादीहरूद्वारा समर्थित पूर्व अभियोजक अलेक्जेन्डर स्टोयानोग्लोले अपेक्षा गरेका (२५.९५ प्रतिशत) भन्दा बढी मत प्राप्त गर्नुभएको थियो ।
आइतबारको मतदान निकै प्रतिस्पर्धात्मक हुने सम्भावना छ ।
पहिलो चरणमा भाग लिएका धेरै रुसी समर्थक उम्मेदवारहरूले मोल्दोभा युद्धमा तानिने र दोस्रो युक्रेन बन्ने खतरा रहेको बताउँदै स्टोयानोग्लोको समर्थन गरेका छन् ।
आफ्नो चुनावी अभियानका क्रममा सन्दुले अभियोजक पदबाट बर्खास्त गरेका स्टोइआनोग्लोले ‘सन्तुलित विदेश नीति’ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले जनमत सङ्ग्रहलाई ’प्यारोडी’ को संज्ञा दिँदै बहिस्कार गर्नुभएको थियो ।
मस्कोले ‘मोल्डोभाका नागरिकलाई आफ्नो नेता छान्न पाउने सार्वभौम अधिकार प्रयोग गर्नबाट रोक्ने प्रयास गर्ने’ वासिङ्टनले चेतावनी दिएसँगै सरकारले ‘चुनावी धाँधली’ बारे चिन्ता व्यक्त गर्दै आएको छ।
सन्दुले सामाजिक सञ्जालमार्फत मोल्दोभाका नागरिकलाई ’भोटका लागि पैसा दिने र तपाईंको इज्जत कुल्चिने, तपाईंको स्वतन्त्रता चोर्ने’ र ‘दशकौंसम्म मोल्दोभालाई आर्थिक क्षति पु¥याउने देशविरोधी शक्तिका अगाडि नडराउन’ आग्रह गर्नुभएको छ ।
उहाँले ‘आपराधिक समूह’ले तीन लाख मतदातालाई घूस दिन खोजेको आरोप लगाउँदै भ्रष्टाचारविरुद्धको लडाइँलाई तीव्रता दिन न्यायपालिकालाई आग्रह गर्नुभयो ।
प्रतिक्रिया