इजरायलको मन्त्रिपरिषद्ले लेबनानको युद्धविराम ढाँचाबारे छलफल गर्दै : मन्त्री

इजरायली ऊर्जामन्त्री एली कोहेनले बुधबार इजराइलको सुरक्षा मन्त्रिपरिषद्ले लेबनानको दक्षिणी भूभागमा भइरहेको इजÞरायली सेनाको स्थल आक्रमणसँग सम्बन्धित युद्धविराम सम्झौताका शर्तहरूबारे छलफल गरिरहेको बताउनुभएको छ । 

“छलफल भइरहेका छन्, मलाई लाग्छ यसलाई अझै केही समय लाग्नेछ”, कोहेनले इजरायली सार्वजनिक रेडियोलाई भन्नुभयो ।इजरायलको च्यानल १२ टेलिभिजनका अनुसार प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले मङ्गलबार बेलुका मन्त्रीहरूसँग ६० दिनको युद्धविरामको बदलामा इजÞरायलका मागका बारेमा वार्ता गर्नुभएको थियो ।

यसमा इजरायली सीमाबाट करिब ३० किलोमिटर टाढा लितानी नदीको उत्तरी भागबाट हिजबुल्लाहलाई पछि हटाउने, लेबनानी सेनाको तैनाथी, युद्धविराम कार्यान्वयनका लागि अन्तर्राष्ट्रिय हस्तक्षेप प्रणाली र खतरा भएको अवस्थामा इजÞरायलले आफ्नो कारबाहीको स्वतन्त्रता कायम राख्ने गारन्टी समावेश छ ।

“यी गत महिनाहरू र विशेषगरी गत हप्ताहरूमा सेनाले गरेका सबै अभियानलाई धन्यवाद । सम्पूर्ण हिजबुल्लाहलाई समाप्त गर्न र हिजबुल्लाहका दुई हजारभन्दा बढी आतङ्ककारी पूर्वाधारहरू निशाना बनाएपछि इजरायल बलियो स्थितिमा आउन सक्छ”, कोहेनले भन्नुभयो ।

इजरायली मिडियाका अनुसार संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनका मध्यपूर्वका सल्लाहकार ब्रेट मकगर्क र विशेष दूत एमोस होक्सस्टिन बुधबार क्षेत्रमा आउनुहुनेछ र हिजबुल्लाहसँगको युद्धविरामका लागि शर्तहरूबारे नेतान्याहु र अन्य इजरायली अधिकारीहरूसँग छलफल गर्नुहुनेछ ।

लेबनानमा यो युद्ध गत महिनाको अन्त्यतिर शुरू भएको थियो । यो हमासले सन् २०२३ को अक्टोबर ७ मा इजÞरायलमा गरेको आक्रमणको समर्थनमा हिजबुल्लाहले गरेको सीमापारको कम तीव्रता आक्रमणबाट शुरू भएको थियो ।

लेबनानमा यो युद्धमा सेप्टेम्बर २३ यता कम्तीमा एक हजार सात सय ५४ जनाको ज्यान गएको छ । इजÞरायली सेनाले सेप्टेम्बर ३० देखि लेबनान अभियान सुरु गरेयता त्यहाँ ३७ जना सैनिकको ज्यान गएको बताएको छ ।