इजरायल फिर्ता हुने गाजा युद्धविराम योजनाबारे छलफल गर्छौँ– हमास

हमास समूहले गाजामा युद्धविराम प्रस्ताव प्राप्त नगरेको तर इजरायलको फिर्तासहितको कुनै पनि विचार वा प्रस्तावमा छलफल गर्न तयार रहेको हमासका एक प्रवक्ताले बुधबार बताएका छन् ।

“हामीले औपचारिक रूपमा कुनै विस्तृत प्रस्ताव प्राप्त गरेका छैनौँ । यदि युद्ध अन्त्य र गाजा पट्टीबाट सेना फिर्ता गर्ने कुरामा सहमति जनाउने त्यस्ता प्रस्ताव वा विचारहरू हाम्रो सामु राखिन्छन् भने हामी तीसँग संलग्न हुन तयार छौँ”, प्रवक्ताले एएफपीसँग भने ।गोप्य रहन चाहने ती प्रवक्ताले अमेरिकी दबाब नभएका कारण इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले ‘नरसंहार, जातीय सफाया र विस्थापन’ को एजेन्डा कार्यान्वयन गर्न युद्धविराम प्रयासहरूमा बाधा पुर्याइरहेको बताए । 

“यदि इजरायल युद्धविराम प्रस्तावमा सहमत हुन्छ भने हमास तयार छ भनेर हामीले मध्यस्थकर्ताहरूलाई भनेका छौँ, यसमा गाजा पट्टीबाट पूर्ण फिर्ता, गाजामा विस्थापित मानिसहरूलाई उनीहरूका घरहरूमा फिर्ता ल्याउने, हाम्रा मानिसहरूका लागि पर्याप्त सहायता प्रवाह र गहन कैदी–विनिमय सम्झौता समावेश छ”, हमासको पटक–पटकको युद्धविराम सर्तसम्बन्धी वार्तालाई उल्लेख गर्दै उनले भने ।

उनका अनुसार इजिप्ट र कतार हमास र इजरायल बीचको मध्यस्थता छलफलमा लागिरहेका छन् ।हमासले मङ्गलबार राति एक बयानमा ‘युद्धविराम र कैदी–विनिमयका लागि नयाँ प्रस्तावहरूमा छलफल गर्ने’ मध्यस्थहरूको अनुरोधमा केही बैठकहरू भएको पुष्टि गरेको थियो ।

अमेरिका, कतार र इजिप्टका मध्यस्थकर्ताहरूले गाजामा इजरायल र हमास बीच कैदी–विनिमय, सहायता पहुँच र दीर्घकालीन शान्ति वार्ताका लागि युद्धविराम वार्ता गर्न महीनौँदेखि प्रयास गरिरहेका छन् ।

इजरायलका गुप्तचर प्रमुख डेभिड बार्नेआ, सिआइए निर्देशक बिल बर्न्स र कतारी प्रधानमन्त्री मोहम्मद बिन अब्दुरहमान बिन जासिम अल–थानीले गत आइतबार र सोमबार दोहामा आफ्ना छलफलहरूको नयाँ दौर सुरु गर्नुभएको थियो ।

छलफल ‘एक महिनाभन्दा कम समयको’ ‘छोटो–अवधिको’ युद्धविरामको विषयमा केन्द्रित रहेको वार्तासँग परिचित एक स्रोतले बुधबार बताएको छ । “यदि छोटो–अवधिको सम्झौता हासिल हुन सक्छ भने त्यसले अझ स्थायी सहमतिको मार्ग प्रशस्त गर्न सक्छ भन्ने अमेरिकी अधिकारीहरूको मान्यता छ”, स्रोतले भन्यो ।