युक्रेनबारे चीन र रुसबीच छलफल, पश्चिमी देशद्वारा उत्तर कोरियाली सेनाको आलोचना
चीनका विदेशमन्त्री वाङ यीले बुधबार बेइजिङमा रुसका उप–विदेशमन्त्रीसँग युक्रेन सङ्कटबारे छलफल गर्नुभएको छ । पश्चिमी नेताहरूले मस्कोको उत्तर कोरियासँगको बढ्दो सम्बन्धको निन्दा गरिरहेको बेला यो बैठक भएको छ ।
वाङले आन्द्रेई रुडेन्कोलाई चीन र रुसबीचको सम्बन्ध ‘अपरिहार्य’ र ‘बलियो’ रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “यो सम्बन्ध बदलिँदो अन्तर्राष्ट्रिय परिस्थितिबाट प्रभावित छैन र यो कुनै तेस्रो पक्षप्रति लक्षित वा प्रभावित छैन ।”
संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाले रुसमा उत्तर कोरियाली सैनिकहरूको उपस्थितिको आलोचना गरेपछि तनाव बढेको छ ।उत्तर कोरियाली विदेशमन्त्री चोए सन हुई मस्कोमा आफ्ना रुसी समकक्षी सर्गेई लाभरोभसँग भेट्ने तयारीमा रहेको बेला वाङ र रुडेन्कोबीचको बुधबारको बैठक भएको छ ।
दक्षिण कोरिया, नाटो र संयुक्त राज्य अमेरिकाले हजारौँ उत्तर कोरियाली सैनिकहरूले रुसमा तालिम लिइरहेको दाबी गरेका छन् । उक्त दाबीलाई मस्को र प्योङयाङले अस्वीकार गरेका छन् ।सोलको गुप्तचर एजेन्सीका अनुसार पहिलो समूहका विशिष्ट सेनाहरू अक्टोबरको सुरुमा पूर्वी रुसको भ्लाडिभोस्टकतर्फ प्रस्थान गरेका थिए ।
पेन्टागनकी उप–प्रेस सचिव साब्रिना सिंहले यस हप्ता पत्रकारहरूलाई बताउनुभए अनुसार तालिमका लागि पठाइएका करिब १० हजार उत्तर कोरियाली सैनिकले ‘आगामी केही हप्तामा युक्रेन नजिकै रुसी सेनालाई सघाउने सम्भावना छ ।’
प्योङयाङले आफ्ना सैनिकहरू रुसमा तालिम लिइरहेको कुरा अस्वीकार गरे पनि उत्तर कोरियाका उप–विदेशमन्त्री किम जोङ ग्युले त्यस्तो तैनाथी भएको खण्डमा यो अन्तर्राष्ट्रिय कानून अनुरूप हुने बताउनुभएको छ ।चीनले रुस र उत्तर कोरिया दुवैलाई आफ्नो नजिकको साझेदार मान्छ ।अमेरिकी सरकारले चीनसँग प्योङयाङको बढ्दो सैन्य संलग्नताबारे आफ्नो चिन्ता व्यक्त गरेको छ ।
बुधबार नियमित प्रेस सम्मेलनमा वासिङ्टनसँगको वार्ताबारे सोधिएको प्रश्नमा चीनको विदेश मन्त्रालयले टिप्पणी गर्न अस्वीकार गयो ।विदेश मन्त्रालयले वाङले रुडेन्कोसँगको भेटमा रुसमा उत्तर कोरियाली सैनिकहरूको विषय उठाए–नउठाएको पुष्टि गर्न पनि अस्वीकार गयो ।
प्रतिक्रिया