मध्यपूर्वी तनाव कम हुँदा कच्चा तेलको मूल्यमा उच्च गिरावट

 मध्यपूर्वी तनाव कम हुँदा कच्चा तेलको मूल्यमा उच्च गिरावट आएको छ । सोमबार साँझ ५ बजेसम्म अन्तर्राष्ट्रिय बजारमा अघिल्लो दिनको तुलनामा सबैजसो कच्चा तेल साढे ५ प्रतिशत हाराहारीमा घटेको छ ।

यो समयसम्म डब्लूटीआई कच्चा तेलको भाउ प्रतिब्यारेल ५.८ प्रतिशत घटेर ६७.६० अमेरिकी डलरमा झरेको छ । त्यस्तै ब्रेन्ट कच्चा तेलको भाउ ५.५ प्रतिशत घटेर ७१.८ , मुर्बान तेल ५.६ प्रतिशत घटेर ७०.७ अमेरिकी डलरमा झरेको छ ।

एकैदिन कच्चा तेलको मूल्यमा भारी गिरावट आउनुको प्रमुख कारण मध्यपूर्वी एसियाको तनाव कम हुनु रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । इरानविरुद्ध इजरायलको हमला तत्काललाई असफल भएसँगै कच्चा तेलको मूल्यमा भारी गिरावट देखिएको रोयटर्सले जनाएको छ ।

हाललाई इरान र इजरायलको द्वन्द्व रोकिने अनुमान गरिएको छ । इरानमा रहेका तेल उत्पादन तथा प्रशोधनका पूर्वाधार सुरक्षित भएसँगै तेलको आपूर्तिलाई सहज भएको छ । अतिरिक्त आपूर्ति र कमजोर मागका बीच तेलको मूल्य थप घट्न सक्ने आँकलन गरिएको छ ।