फिलिपिन्समा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या ११६ पुग्यो, ३९ अझै वेपत्ता

गत हप्ता फिलिपिन्समा आएको ट्रामी नाम दिइएको आँधीले  निम्त्याएको बाढी  तथा पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ११६ जना पुगेको छ । आँधीका कारण ३९ जना अझै बेपत्ता रहेको फिलिपिन्सको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन परिषद्ले सोमबार जनाएको छ ।

स्थानीय अधिकारीहरूका अनुसार ट्रामीले फिलिपिन्सका १७ वटा क्षेत्रमा ६७ लाखभन्दा बढी मानिसहरूलाई प्रभावित बनाएको छभने अझै बाढी पहिरोका प्रभावितहरूको खोजी कार्य जारी रहेको छ ।   
 
यस वर्ष फिलिपिन्समा आएका चक्रवातमध्ये ट्रामी ११ औँ चक्रवात हो र यसले विशेष गरी बिकोल, क्यालाबारजोन र मध्य तथा दक्षिणी फिलिपिन्सका क्षेत्रहरूमा तुलनात्मक रुपमा बढी क्षति गरेको भएपनि फिलिपिन्सभरि प्रभाव पारेको थियो । आँधीसँगै आएको बाढीले राजमार्ग , पुललगायतका संरचना ध्वस्त पारी यातायात अवरुद्ध भएको छ ।  

शुक्रबार ट्रामी फिलिपिन्सबाट बाहिरिए पनि पीडितहरू अझै खाना, पानीलगायतका आधारभुत आवश्यकता आपुर्तिको पर्खाइमा रहेका छन् । शनिबारदेखि बाढीपहिरोको प्रवाव कम भएपछि केही पीडितहरू आफ्नो घर फर्कन थालेका छन् । यद्यपि, परिषद्ले करिब दश लाख विस्थापितहरू अझै पनि निकासी केन्द्रमा वा आफन्तहरूसँग बसिरहेको जनाएको छ । 

चक्रवात ट्रामीले पूर्वाधारमा अनुमानित क्षति २६.३५ मिलियन अमेरिकी डलर तथा कृषिमा ४३ मिलियन अमेरिकी डलर बराबरको क्षति पुगेको जनाइएको छ ।  

फिलिपिन्सले अर्को उष्णकटिबन्धीय चक्रवात, कङ–रेको सामनाको तयारी गरिरहेको छ, जुन लुजन टापुबाट ७५५ किलोमिटर पूर्वमा फिलिपिन्स सागरमा सोमबार बिहान अवतरण भएको छ । यो चक्रवात पनि तीव्र गतिसहित आउने हुँदा विनासकारी बन्नसक्ने मौसम विभागले चेतावनी दिएको छ ।