गाजामा नागरिकको अवस्था ‘असहनीय’ :  राष्ट्रसङ्घीय प्रमुख

गाजा पट्टीको उत्तरी भागमा चलिरहेको तीव्र इजरायली सैन्य कारबाहीमा भएको नरसंहार तथा विनाशले संयुक्त राष्ट्रसङ्का महासचिव एन्टोनियो गुटेर्रेस ‘स्तब्ध’ भएको उहाँका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 

उत्तरी गाजाका प्यालेस्टिनी नागरिकहरूको अवस्था असहनीय रहेको विज्ञप्तिमा उल्लेख छ ।गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्ला केही हप्तामा गाजामा सयौँ मानिस मारिएका छन्, भने ६० हजारभन्दा बढी विस्थापित भएका छन् । 

गाजामा इजरायलको सैन्य कारबाहीले विनाश र अभावले जबल्या, बेत लाहिया र बेत हानुन वरपरका प्यालेस्टिनीको जीवनको अवस्था अस्थिर बनाइरहेको र द्वन्द्व अन्तर्राष्ट्रिय कानूनको बर्खिलापमा जारी रहेको गुर्टेरेसले बताउनुभएको छ ।

उहाँले द्वन्द्वरत पक्षहरूले मानवीय कार्यकर्ता तथा अग्रपङ्तीमा रहेर मानवीय सहयोगमा खटिएका व्यक्तिको सम्मान र सुरक्षा गर्नुपर्ने बताउनुभएको छ । 

गुटेर्रेसले तत्काल युद्धविराम, सबै बन्धकको बिना शर्त रिहाइ र अन्तर्राष्ट्रिय कानुन अन्तर्गतको जवाफदेहिताका लागि समेत आह्वान गर्नुभएको छ ।