चुनावमा पराजय भोगे पनि तत्काल सरकारबाट नबाहिरिने जापानका प्रधानमन्त्रीको भनाइ

 जापानका प्रधानमन्त्री शिगेरु इशिबाले मध्यावधि निर्वाचनमा आफ्नो गठबन्धनले अपेक्षित नतिजा नल्याएपनि सरकारको नेतृत्वमा रहिरहने प्रतिबद्धता जनाउनुभएको छ ।

इशिबाले अक्टोबर १ मा पदभार ग्रहण गरेको केही दिनपछि अक्टुबर २७ का लागि निर्वाचनको घोषणा गर्नुभएको थियो । 

सन् १९५५ देखि जापानमा शासन गरिरहेको उहाँको लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) का चुनाबमा निकै कमजोर नतिजा देखिएको छ । 

एलडिपी नेतृत्वको गठबन्धनले बहुमत गुमाउने अनुमान गरिएसँगै इशिबाले ‘राजनीतिक शून्यता’ हुन नदिने बताउँदै सत्तामा रहिरहने प्रतिबद्धता जनाउनुभएको हो । 

“म जापान र जापानी जनताको रक्षा गर्दै आफ्नो कर्तव्य पूरा गर्न चाहन्छु,” इशिबाले पत्रकारसँग भन्नुभयो । 

उहाँले भन्नुभयो, “सबैभन्दा ठूलो चुनावी कारक पार्टीका जिम्मेवार नेताको नै आर्थिक अनियमिततासँग जोडिएका मुद्दामा सम्लग्नता देखिनु र यसबाट जनतामा एलडिपीप्रति ‘शङ्का, अविश्वास र क्रोध’ सिर्जना हुनु नै रहेको बताइएको छ । 

“म पैसा र राजनीतिको विषयमा आधारभूत सुधार गर्नेछु,” इशिबाले पत्रकारहरूसँग भन्नुभयोे, “मतदाताहरूले पार्टीमाथि ‘कठोर निर्णय’ दिएका छन्।

राष्ट्रिय प्रसारक एनएचके र अन्य सञ्चारमाध्यमले सार्वजनिक गरेको एक्जिट पोल र नतिजाले एलडीपी र यसको कनिष्ठ गठबन्धन साझेदार कोमिइतोका लागि १५ वर्षयताकै सबैभन्दा खराब नतिजा देखाएपछि येनको मूल्य तीन महिनायताकै न्यून विन्दुमा झरेको छ ।

जापानको संसद्को ४५६ सदस्यीय तल्लो सदनमा कम्तीमा २३३ सिट जित्ने इशिबाको घोषित लक्ष्यपूरा गर्न उनीहरू असफल हुने अनुमान निर्वाचन सर्वेक्षण नतिजाले यसअघि  नै गरेका थिए । एनएचकेका अनुसार एलडीपीले १९१ सिट जितेको छ । सन् २०२१ को चुनावमा एलडीपीले २५९ र कोमेइतोले २४ सिट जितेका थिए। सोमवार साँझसम्म आधिकारिक परिणाम आउने अनुमान गरिएको छ । 

चुनावअघि जापानी सञ्चारमाध्यमले यदि निर्वाचनमा एलडिपीले हार ब्यहोर्नु परेमा इशिबाले पद छोड्ने र विश्वयुद्धपछिको समयमा जापानको सबैभन्दा छोटो सेवा गर्ने प्रधानमन्त्री बन्नसक्ने अनुमान गरेका थिए ।एलडिपीको निर्वाचन समितिका प्रमुख तथा पूर्वप्रधानमन्त्री जुनिचिरो कोइजुमीका छोरा शिन्जिरो कोइजुमीले घोषित निर्वाचन परिणामसँगै राजीनामा दिनुभएको छ । 

विश्लेषकहरूका अनुसार अर्को कदम भनेको इशिबाले अब अल्पमतको सरकारको नेतृत्व गर्ने प्रयास गर्नुहुनेछ किनभने विभाजित विपक्षीहरू सम्भवतः आफ्नै गठबन्धन बनाउन अक्षम देखिएका छन्।इशिबाले सोमबार दिएको प्रतिक्रियामा आफूले ‘अहिले नै’ व्यापक गठबन्धन बनाउनेबारे विचार नगरेको बताउनुभएको छ । 

युनिभर्सिटी अफ टोकियोका राजनीतिशास्त्रका प्राध्यापक यु उचियामाले एएफपीसँग भन्नुभयो, “पूर्वप्रधानमन्त्री शिन्जो आबेसँग आबद्ध सांसदहरू इशिबाको नेतृत्वप्रति उदासीन छन्, त्यसैले उनीहरूले बदला लिने मौकाको फाइदा लिन सक्छन्।”

“एलडिपी सीट सङ्ख्या यति धेरै कम भएको छ र यसले उनीहरूलाई पनि चोट परेको छ । त्यसैले उनीहरूले बदलाको भावभन्दा माथि उठेर तत्कालका लागि इशिबालाई समर्थन गर्न सक्दछन्। उनीहरूले यो आन्तरिक कलहको समय नभएको निक्र्योलमा पुग्न सक्छन्,” उचियामाले भन्नुभयो ।