राजनीतिमा हाेमिए ‘साउथ सुपरस्टार’ थलापति विजय

‘साउथ सुपरस्टार’ थलापति विजय राजनीतिमा प्रवेश गरेका छन्।

उनले अरु कसैको दलमा नगई आफैँले नयाँ पार्टी घोषणा गरेका हुन्। त्यति मात्र होइन, विजयको दल 'तमिलगा वेत्री कझगम' (टीभीके) ले आइतबार तमिलनाडुको विल्लुपुरम जिल्लाको विक्रवन्डीमा 'विशाल' आमसभासमेत आयोजना गरेको छ। भारतीय सञ्चार माध्यमहरूका अनुसार आमसभामा विजयको भाषण सुन्न हजारौं पुगेका थिए।

भाषणका क्रममा उनले राज्य र केन्द्र सरकारमा रहेका दलहरूविरुद्ध निसानासमेत साधेँ। तमिलनाडु सरकारमा रहेको डीएमके र केन्द्र सरकारमा रहेको भाजपाले विभाजनको राजनीति गरिरहेको उनले बताए। सत्ताधारी डीएमकेप्रति लक्षित गर्दै उनले भने, ‘उनीहरू अन्डरग्राउन्ड डिल गर्छन्। अल्पसङ्ख्यकहरूलाई धोका दिनका लागि फासिवादको आरोप लगाउँछन्। द्रविड मोडलका नाममा तपाईंहरूलाई धोका दिइरहेका छन्।’

त्यस्तै भाजपाप्रति इङ्गित गर्दै विजयले भने, ‘घृणाको राजनीति गर्नेहरू हाम्रा सत्रु हुन् । विभाजनकारी राजनीति र घृणा हाम्रा शत्रु हुन्। ...म राजनीतिक शिष्टाचार र राजनीतिक शालीनता कायम राख्नेछु। यो भीड पैसाका लागि होइन, एउटा उद्देश्यका लागि हो।’

उनले आफू राजनीतिमा जगेडाका रूपमा नआएको समेत बताए। तमिलनाडुको प्रमुख शक्ति बन्ने प्रणसमेत उनले गरेका छन्। ‘पहिला मलाई लाग्थ्यो राजनीति किन गर्नुपर्‍यो र? तर के आफ्नै बारेमा सोच्नु स्वार्थ हैन र?,’ उनले भाषणका क्रममा भने। उनले सन् २०२६ मा हुने तमिलनाडु विधानसभा चुनावमा राज्यका २३४ सिटमै आफ्नो दलले उम्मेदवार उठाउनेसमेत बताए।

विजयले यसै वर्षको फेब्रुअरीमा तमिलनाडु र पुडुचेरीमा काम गर्नका लागि राजनीतिक दल स्थापना गरेका थिए। भारतीय निर्वाचन आयोगले भने टीभीकेलाई गत सेप्टेम्बरमा आधिकारिक रूपमा दलको मान्यता दिएको थियो। दलको मान्यता पाएपछि विजयले आइतबार जनसभा आयोजना गरेका हुन्। विजयले आफ्नो दलको विचारधारा धर्मनिरपेक्ष र सामाजिक न्यायमा आधारित भएको समेत बताएका छन्।

यसअघि पनि दक्षिण भारतमा थुप्रै कलाकारहरू राजनीतिमा आइसकेका छन्। तीमध्ये केही सफल भएका छन् भने केही असफल। पवन कल्याण, चिरञ्जीवी, एमजी रामचन्द्रन, विजयकान्त, एनटी रामा राव, कमल हसनजस्ता कलाकार राजनीतिमा आइसकेका छन्।

चिरञ्जीवीका भाइसमेत रहेका पवन कल्याणले सन् २०१४ मा ‘जन सेना’ पार्टी बनाएका थिए। यसै वर्षको आन्ध्र प्रदेश विधानसभा चुनावमा उक्त दलले २१ सिट जित्यो। त्यस्तै लोकसभा चुनावमा २ सिट जितेको उक्त दलले भाजपासँग चुनावी गठबन्धन गरेको थियो। पवन अहिले आन्ध्रका उपमुख्यमन्त्री छन्।

त्यस्तै तमिलनाडुको राजनीतिमा परिचित नाम हो, एमजी रामचन्द्रन। उनले राजनीतिमा आउनुअघि लामो समय कलाकारितामा समय बिताएका थिए। सन् १९७२ मा उनले एआईएमडीएमके स्थापना गरे। सन् १९७७ देखि १९८७ सम्म उनी तमिलनाडुका मुख्यमन्त्री बने। उक्त दलमा सन् १९८२ मा चर्चित कलाकार जयललिता पनि प्रवेश गरिन्।

उनी सन् १९९१ मा पहिलो पल्ट तमिलनाडुको मुख्यमन्त्री बनिन्। १४ वर्षभन्दा बढी मुख्यमन्त्री बनेकी उनको सन् २०१६ मा निधन भएको थियो। दक्षिण भारतमा मात्र नभई अन्य राज्यहरूमा पनि कलाकार र खेलाडीहरू राजनीतिमा सक्रिय छन्।