मेची–महाकाली राष्ट्रिय उद्धार अभियानअन्तर्गत एक सय २८ सडक आश्रितको उद्धार

मानव सेवा आश्रमको मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा अभियानका क्रममा एक सय २८ सडकआश्रित मानवको उद्धार गरिएको छ । अभियानकै क्रममा लुम्बिनी प्रदेशका जिल्लाहरुबाट भने हाल सम्म २८ जनाको उद्धार गरिएको मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले जानकारी दिनुभयो । लुम्बिनी प्रदेशको रुपन्देही, बाँके र दाङ जिल्लामा मानव सेवा आश्रम सञ्चालनमा छन् । 

झापाको मेची पुलबाट सुरु भएको उद्धार अभियानको टोली १३औँ दिनमा आज लुम्बिनी प्रदेशको राजधानी स्थल राप्ती उपत्यका देउखुरी आइपुगेको हो । लुम्बिनी प्रदेशको राजधानी पुगेको टोलीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज मुख्यमन्त्री चेतनारायण आचार्यले स्वागत तथा सम्मान गर्नुभयो । 

त्यस अवसरमा मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशलाई आगामी वर्ष सहयोगापेक्षी सडकआश्रित मानवमुक्त प्रदेश बनाउन सरकारले अठोट लिएको बताउनुभयो । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेत यस विषयलाई प्राथमिकताका साथ सम्बोधन गरेको जानकारी दिनुहुँदै उहाँले आगामी वर्ष प्रदेशलाई सहयोगापेक्षी, सडकआश्रित मानवमुक्त घोषणा गर्नेगरी कार्यक्रम अघि बढाउने बताउनुभयो ।  

मुख्यमन्त्री आचार्यले मानव भएर मानवको हिसाबले बाँच्न पाउने अधिकार सुनिश्चित गरिने बताउनुभएको छ । “यहाँहरुले थालेको अभियानमा प्रदेश सरकारको साथ सहयोग छ । मानव भएर मानवको हिसाबले बाँच्न पाउनुपर्छ”, उहाँले भन्नुभयो, “प्रदेश सरकार यस अभियानमा साझेदारी गर्न चाहन्छ । हामी आउने वर्ष लुम्बिनी प्रदेशका सडकमा बास बस्ने मानिस नरहने गरी सडकआश्रित मानवमुक्त प्रदेश घोषणा गरेर अघि बढ्छौँ ।” 

मुख्यमन्त्री आचार्यले टोलीमा सहभागी आनीछोइङ डोल्मा फाउन्डेसनका अध्यक्ष तथा चर्चित गायिका आनीछोइङ डोल्मा, मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीलाई सम्मान गर्नुभयो ।

सडकपेटी र सार्वजनिकस्थलमा कष्टपूर्ण जीवन बिताइरहेका सडक आश्रित सहयोगापेक्षीहरूको उद्धारका लागि मानव सेवा आश्रमले हरेक वर्ष मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा गर्दै आएको छ । यात्रामा ५० जना यात्री अर्थात् उद्धारकर्मीहरु रहेका छन् । मानवसेवा आश्रमको सातवटा प्रदेशका १९ जिल्लामा २५ वटा सेवा केन्द्र सञ्चालनमा छन् । उद्धार यात्राको खर्च आनीछोइङ डोल्मा फाउन्डेसनले सौजन्य गरेको छ । आश्रमले आगामी वर्ष अर्थात् २०८२ सालभित्र नेपाललाई सडकपेटी र सार्वजनिकस्थलहरुमा कष्टपूर्ण जीवनयापन गर्न नपर्ने मानिसहरूको देश निर्माण गर्ने सङ्कल्प गरेको छ ।