जर्जियाको मतदानमा मतदातामाथि ‘दबाब’– अन्तर्राष्ट्रिय पर्यवेक्षकहरू

अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले आइतबार जर्जियाको संसदीय चुनावमा मतदातामाथि दबाब र ‘असमान खेल मैदान’ रहेको बताएका छन् । सत्तारूढ दलले प्रभावशाली जीत घोषणा गरेपछि उनीहरूको यस्तो टिप्पणी आएको हो । 
    
आधिकारिक नतिजाले वर्तमान जर्जियन ड्रिम पार्टी बहुमत सिट जित्ने मार्गमा रहेको देखाएको छ । यसलाई विपक्षी समूहहरूले ‘धाँधलीपूर्ण’ भन्दै आलोचना गरेका छन् ।

ब्रसेल्सले ककेसस मुलुक जर्जियामा लोकतन्त्रको महत्त्वपूर्ण परीक्षणको रूपमा हेरिएको शनिबारको मतदानले युरोपेली सङ्घ (इयु) उम्मेदवार टिबिलिसीको इयुमा सामेल हुने सम्भावना तय गर्ने चेतावनी दिएको थियो ।युरोपेली सुरक्षा तथा सहयोग सङगठन, युरोप परिषद्, युरोपेली संसद् र नाटोको संयुक्त पर्यवेक्षण मिसनले मतदान ‘असमान खेल मैदान, दबाब र तनावले’ कलङ्कित भएको एक विज्ञप्तिमा बताएको थियो ।

पर्यवेक्षकहरूले मतदानको दिन सामान्यतया राम्रोसँग व्यवस्थित भए पनि यो ‘तनावपूर्ण वातावरणले’ भरिएको भएको बताए । “असमान खेल मैदानले... नतिजाप्रतिको विश्वासलाई कमजोर बनाउँछ”, पर्यवेक्षकहरूले विज्ञप्तिमा भनेका छन्, “मतदाताहरूलाई दिइएको व्यापक विकल्प चुनावलाई अन्तर्राष्ट्रिय लोकतान्त्रिक सिद्धान्तहरू अनुरूप बनाउन पर्याप्त छैन ।”

विपक्षी दलहरूले मतदानका क्रममा मतपेटिका भर्ने र धम्की दिने घटनाहरू भएको आरोप लगाउँदै नतिजाहरूलाई ‘धाँधलीपूर्ण’ भनेका छन् ।चुनावको नतिजाले राजनीतिक टकरावको मञ्च तयार गरेको विश्लेषकहरूले चेतावनी दिएका छन् । उनीहरूका अनुसार नतिजाले जर्जियाको युरोपेली आकांक्षाहरूलाई लिकबाट उतार्न सक्छ ।

सन् २०१२ देखि सत्तामा रहेको जर्जियन ड्रिमले सुरुमा उदार पश्चिम–समर्थक नीति एजेन्डा अपनाएको थियो तर पछिल्लो दुई वर्षमा यसले आफ्नो दिशा परिवर्तन गरेको छ ।जर्जिया यस वर्षको सुरुमा व्यापक विरोध प्रदर्शनको चपेटामा परेको थियो । विपक्षीले सरकारले लोकतान्त्रिक स्वतन्त्रताहरू कम गर्न र ४० लाख जनसङ्ख्या भएको मुलुकलाई पश्चिम–समर्थक मार्गबाट हटाएर रुसको कक्षमा धकेल्ने प्रयास गरेको आरोप लगाएको थियो ।