शेख हसिनाविरुद्ध २२५ मुद्दा दर्ता

 बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध दर्ता भएको हत्याको मुद्दामा सुनुवाइ भएको छ । ढाकाको एक अदालतले नोभेम्बर २८ भित्र अनुसन्धान प्रतिवेदन बुझाउन प्रहरीलाई निर्देशन दिएको बंगलादेशी पत्रिका डेली स्टारले जनाएको छ ।

मुद्दा मिरपुरमा सरकार विरोधी प्रदर्शनका क्रममा भएको १८ वर्षीय कलेज विद्यार्थीको मृत्युसँग सम्बन्धित छ । मुद्दामा हसिना र अन्य २३ जनालाई विपक्षी बनाइएको छ ।

आन्दोलनका क्रममा सुरक्षा बलको कारबाहीमा ती विद्यार्थीको मृत्यु भएको थियो । गत अगस्ट १५ मा मृतकका भाइले हत्या मुद्दा दायर गरेका थिए ।

हसिनामाथि हिंसामा प्रत्यक्ष संलग्न वा प्रोत्साहन गरेको आरोप लगाइएको छ । हसिनाबाहेक उनको सरकारमा पूर्वगृहमन्त्री असदुज्जमान खान, अवामी लिगका महासचिव ओबैदुल कादिर, पूर्व कानूनमन्त्री अनीसुल हक र पूर्व पुलिस आईजी चौधरी अब्दुल्लाह अल–मामुन पनि छन् ।

हसिनाविरुद्ध २२५ मुद्दा दर्ता 

हसिनाविरुद्ध हालसम्म २२५ मुद्दा दर्ता भएका छन् । जसमध्ये १९४ हत्या, १६ नरसंहार, तीन अपहरण, ११ ज्यान मार्ने प्रयास र विपक्षी दलको कार्यक्रममा आक्रमण गरेको सम्बन्धी एउटा मुद्दा छ ।

बंगलादेशमा आरक्षणको विरोधमा हिंसात्मक प्रदर्शन भएको थियो । यस अवधिमा आगजनी पनि भएको थियो ।

सरकार विरोधी प्रदर्शनपछि शेख हसिना अगस्ट ५ मा भारत आएकी थिइन् । आन्दोलनरत विद्यार्थीहरूले आरक्षणको विरोधमा शेख हसिनाको राजीनामा माग गर्दै जुन महिनादेखि आन्दोलन गर्दै आएका थिए । प्रदर्शनका क्रममा ७०० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो ।