इजरायल-इरानबीचकाे द्वन्द्व उत्कर्षमा, कुन शक्तिशालि ?

इरान र इजरायलबीच बढ्दो तनावले मध्यपूर्वमा द्वन्द्व उत्कर्षमा पुग्ने संकेत देखिएको छ । इजरायलले शनिबार इरानमाथि घातक हवाई आक्रमण गरेपछि थप तनाव बढेको हो ।

शनिबारको इजरायली आक्रमणको जवाफी आक्रमण गर्ने इरानले संकेत गरेको छ । इरानले इजराइली आक्रमणको जबाफ दिन संकोच नमान्ने बताएको छ । शनिबार इजरायली आक्रमणपछि इरानले त्यसको जवाफ दिन आफूहरू तयार रहेको बताएको हो ।

इरानका विदेशमन्त्री सैयद अब्बास अरगचीले आफ्नो देशले अखण्डता र सुरक्षाको कुनैपनि उल्लंघनलाई उपयुक्त समयमा निर्णायक र उचित जवाफ दिन नहिचकिचाउने बताएका छन् । यस्तै, इरानका राष्ट्रपति मसुद पेजिस्कियनले पनि मूर्खताको कुनैपनि कार्यको प्रतिक्रिया दिने बताएका छन् । उनले शनिबार सामाजिक सञ्जाल एक्समा यस्तो धारणा राखेका हुन् ।

यस्तै, उनले कतार, इजिप्ट र सिरियाका समकक्षीसँग पनि कुराकानी गरेका थिए । कुराकानीमा उनले पछिल्लो घटनाक्रमबारे उनीहरूसँग राय सुझाव लिएका थिए । कुराकानीपछि तीनै देशका विदेशमन्त्रीले इरानमा इजरायली आक्रमणको निन्दा गरेको विज्ञप्तीमा जनाइएको छ । यता, इजरायलले भने शनिबारको आक्रमणपछि आफ्नोतर्फबाट कारबाही समाप्त भएको भनेको छ । तर, इरानले पुनः आक्रमण गरे जवाफ दिने इजरायलले जनाएको छ ।

शनिबार इजरायलले इरानको तेहरान आसपास सैन्य अड्डाहरूलाई लक्षित गरी आक्रमण गरेको थियो । आक्रमणबाट कति क्षति भयो भन्ने विषय दुवै पक्षबाट सार्वजनिक भएको छैन ।

उक्त आक्रमणलाई इजरायलले अक्टोबर १ मा इरानले गरेको आक्रमणको जवाफ भनेको छ । इस्लामिक रिभोलुसनरी गार्डका प्रमुख कमाण्डर र कमाण्डरहरूलाई इजरायलले मारेको, गाजामा भएको कारबाही र हमासका कमाण्डरहरू मारिएको र यसमा इजरायलको हात रहेको आरोप लगाउँदै इरानले इसराइलमाथि अक्टोबर १ मा आक्रमण गरेको थियो ।

त्यतिबेला इरानले इजरायलमाथि १८० भन्दा बढी मिसाइल आक्रमण गरेको थियो । त्यसलाई इरानले इजरायलमाथि अहिलेसम्म गरेको ठूलोमध्येको हमला भनिएको छ ।सो आक्रमणपछि इजरायलले त्यसको जबाफ दिने र इरानले चर्को मूल्य चुकाउनुपर्ने चेतावनी इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले दिँदै आएका थिए ।

मध्यपूर्वको लडाइँमा इजरायललाई सहयोग गर्दै आएको अमेरिकाले इरानमा आक्रमण गर्दा सैनिक अड्डाहरूमा मात्र निशाना बनाउन इजराइललाई सुझाव दिएको थियो । सोहीअनुसार शनिबार बिहान इजरायलले इरानी सैन्य अड्डाहरू लक्षित गर्दै आक्रमण गरेको थियो ।

इरानले अक्टोबर १ को आक्रमणपछि इजरायल प्रत्याक्रमणमा उत्रिए त्यसको जबाफ दिन तयार रहेको बताउँदै आएको थियो । इजरायलले इरानमाथि आक्रमण गरेपछि मध्यपूर्वको द्वन्द्व थप उत्कर्षमा पुगेको छ । इजरायल इरानसँगै गाजामा हमास र लेबननमा हिजबुल्लाहसँग लडिरहेको छ ।