एप्पललाई पछि पार्दै एनभिदिया बन्याे पुन: विश्वको सबैभन्दा मूल्यवान् कम्पनी

चिप निर्माता कम्पनी एनभिदिया पुन: विश्वको सबैभन्दा मूल्यवान् कम्पनी बनेको छ । लगातार शेयर मूल्यमा वृद्धि हुँदा एनभिदियाले एप्पललाई पछि पार्दै यो सफलता हात पारेको हो । 

यससँगै कम्पनीको कुल मूल्य ३० खर्ब ५३ अर्ब डलर पुगेको छ । तर यो एप्पलको भन्दा केहीले मात्र बढी हो । यसअघि गत जून महिनामा एनभिदिया सबैभन्दा मूल्यवान् कम्पनी बनेको थियो । तर उसलाई माइक्रोसफ्ट र एप्पलले छोटो समयमा नै पछि पारेका थिए ।

अहिले यी तीन कम्पनीहरूको बजार मूल्यमा तीव्र प्रतिस्पर्धा चलिरहेको छ । बजार पुँजीकरण अनुसार माइक्रोसफ्टको बजार मूल्य ३० खर्ब १८ अर्ब डलर र एप्पलको मूल्य ३० खर्ब ५२ अर्ब रहेको छ । 

सन् १९९० को दशकदेखि भिडिओ गेम प्रोसेसर डिजाइनका लागि परिचित एनभिदियाको शेयर मूल्य अक्टोबरमा मात्र करिब १८ प्रतिशतले बढेको छ । यसको कारण ओपनएआईले साढे ६ अर्ब डलर बढी लगानी जुटाउने घोषणा गर्नु मानिएको छ । 

किनकि पछिल्लो समय विश्वभर नै एआईको चर्चा चुलिँदा चिपको पनि उत्तिकै माग भइरहेको छ । यहीकारण नै एप्पल, माइक्रोसफ्ट, अल्फाबेट, मेटा प्लेटफर्म जस्ता ठूला कम्पनीलाई पछि पार्दै एनभिदिया पुन: विश्वको सबैभन्दा मूल्यवान् कम्पनी बनेको हो ।