इजरायलले इरानमा गरेको हवाई हमलामा दुई इरानी सैनिकको मृत्यु

 इजरायलले शनिबार बिहान इरानमा गरेको हवाई हमलामा दुई इरानी सैनिकको मृत्यु भएको छ ।

इरानको आधिकारिक मिडिया रिपोर्टका अनुसार इरानी सेनाले इजरायली हवाई आक्रमणमा आफ्ना दुई सैनिकको मृत्यु भएको जनाएको छ ।

सेनालाई उद्धृत गर्दै इरानको सरकारी समाचार एजेन्सी आइआरएनएले भनेको छ- 'इस्लामिक गणतन्त्र इरानको सेनाले इरानको सुरक्षा र जनता र इरानको हितको रक्षा गरिरहेको छ । आपराधिक यहूदी शासनको हवाई हमलाको सामना गर्ने क्रममा हाम्रा दुई सैनिक मारिए ।'

इरानको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै इजरायलको आक्रमणको निन्दा गर्दै यसलाई अन्तर्राष्ट्रिय कानुनको 'उल्लंघन' भनेको छ । इरानको विदेश मन्त्रालयले संयुक्त राष्ट्र बडापत्रको धारा ५१ लाई उद्धृत गर्दै भन्यो, 'इरानको इस्लामिक गणतन्त्रलाई यस विदेशी आक्रमणको विरुद्ध आफ्नो रक्षा गर्ने अधिकार छ ।'

यसैबीच इरान समर्थित सशस्त्र समूह हमासले इजरायलको यो आक्रमणको निन्दा गरेको छ । हमासले इरानी सैन्य लक्ष्यमा इजरायलको आक्रमणको कडा निन्दा गरेको जनाएको छ ।