पर्यटन क्षेत्रको विकासबाट मुलुकलाई समृद्धितर्फ उन्मुख गर्न सकिने

 सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पर्यटन क्षेत्रको विकासबाट मुलुकलाई समृद्धितर्फ उन्मुख गर्न सकिने बताउनुभएको छ ।

उहाँले आर्थिक समृद्धिको महत्वपूर्ण आधार पर्यटन क्षेत्रको विकासका लागि सरकारी तहमा हरसम्भव प्रयास भएको बताउनुभयो । 

बेँसीसहर नगरपालिका–२ चिसापानी घरबासको आज यहाँ उद्घाटन गर्दै सञ्चारमन्त्री गुरुङले घरबासका माध्यमबाट पनि पर्यटन प्रवद्र्धनमा योगदान हुने भएकाले पर्यटकलाई यहाँका मौलिक उत्पादन र सम्पदाबारे जानकारी दिनुपर्छ भन्नुभयो । रोजगारीका अवसर सिर्जनाका साथै त्यसबाट गरिबी घटाउन पनि योगदान पुग्ने उहाँले बताउनुभयो । उहाँले पर्यटकको आगमनबाट विदेशी मुद्रा आर्जन हुने र त्यसले स्थानीयको आर्थिक स्तर उकास्न मद्दत मिल्ने बताउनुभयो ।  

सञ्चारमन्त्री मन्त्री गुरुङले भन्नुभयो, “स्थानीयले होमस्टे चलाउनुपर्छ । बिजुली, सडक, खानेपानीलगायत संरचना निर्माणमा सरकारले सक्दो सहयोग गर्नेछ ।” 

फरक प्रसङ्गमा उहाँले पुरानो कृषि प्रणालीले उत्पादकत्व वृद्धि नहुने, कृषिको यान्त्रिकीकरणका साथै व्यावसायिकीकरणमा जोड दिँदै किसान समृद्ध भए मात्र गाउँको समृद्धि सुनिश्चित हुने बताउनुभयो । खेतबारी बाँझो नराख्न पनि उहाँले सबैलाई अनुरोध गर्नुभयो । सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री गुरुङले ग्रामीण पर्यटन विकासका लागि घरबास उपयोगी भएका आफूले पाएको बताउनुभयो । 

घरबास सञ्चालन व्यवस्थापन समितिका अध्यक्ष मिनमाया गुरुङले ४९ घर रहेको चिसापानी गाउँमा १० घरमा घरबास सञ्चालन भएका जानकारी दिनुभयो ।