धोनीले यो वर्षको आईपीएल खेल्न सक्ने

भारतीय टिमका पूर्वकप्तान एमएस धोनीले यो वर्षको इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्ने संकेत गरेका छन् । धोनीले अझै केही वर्ष यो खेलको मजा लिन चाहेको बताएका हुन् ।

धोनीले शुक्रबार एक प्रमोशनल कार्यक्रममा भने, ‘बाल्यकालमा हामी साँझ ४ बजे बाहिर खेल्न जान्थ्यौं र खेलको मजा लिन्थ्यौं । तर जब तपाइँ व्यावसायिक खेल खेल्दै हुनुहुन्छ, क्रिकेटलाई खेलको रूपमा रमाइलो गर्न गाह्रो हुन्छ। यो म गर्न चाहन्छु । यो गाह्रो छैन। म अझै केही वर्ष यो खेलको मजा लिन चाहन्छु। मैले आफूलाई ९ महिनासम्म फिट राख्नुपर्छ, ताकि म साढे दुई महिना आइपिएल खेल्न सकूँ ।'

हालसम्म धोनीले आफ्नो उपलब्धताबारे कुनै पुष्टि गरेका छैनन् । धोनीले २९-३० अक्टोबरमा हुने चेन्नई सुपर किंग्सको व्यवस्थापन बैठकमा भाग लिनु पर्ने छ, तर उनको सहभागिताबारे कुनै आधिकारिक बयान आएको छैन । 

आईपीएलका लागि रिटेन्सन लिस्ट पेश गर्ने अन्तिम मिति ३१ अक्टोबर हो । धोनीबारे सीएसके व्यवस्थापनको बैठकमा नै निर्णय लिनुपर्नेछ।

धोनी आईपीएलको पहिलो सिजनदेखि नै चेन्नईबाट खेल्दै आएका छन् । उनले अहिले कप्तानी छोडिसकेका छन् । गत सिजन रुतुराज गायकवाडले चेन्नईको कप्तानी गरेका थिए । तर टोली प्लेअफमा पुग्न सकेन । धोनीको कप्तानीमा चेन्नईले ५ उपाधि जितेको थियो ।

आईपीएलको पछिल्लो सिजनमा धोनीले ११ खेल खेलेका थिए । उनले २२४.४८ को स्ट्राइक रेटमा ११० रन बनाएका थिए ।