इरानमा इजरायलले गरेको हवाई हमलामा आफु संलग्न नभएको अमेरिकाकाे स्पष्टीकरण

अमेरिकी रक्षा विभागको मुख्यालय पेन्टागनले इरानमा इजरायलले गरेको हवाई हमलामा अमेरिका संलग्न नभएको स्पष्टीकरण दिएको छ।

बीबीसीका अनुसार इजरायलले इरानविरुद्ध हवाई आक्रमण सुरु गरेको छ। पेन्टागनले भनेको छ- इजरायलले हामीलाई आक्रमणबारे पहिले नै जानकारी दिएको थियो।

साथै अमेरिकाका राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई पनि यस विषयमा जानकारी गराइएको छ।

एक अमेरिकी अधिकारीले बीबीसीको अमेरिकी समाचार साझेदार सीबीएसलाई भने- राष्ट्रपतिलाई इजरायली हवाई हमलाबारे जानकारी दिइएको थियो र उहाँले घटनालाई नजिकबाट नियालिरहनुभएको छ। 

समाचार एजेन्सी रोयटर्सका अनुसार उपराष्ट्रपति कमला ह्यारिसलाई पनि इरानमा इजरायली आक्रमणबारे जानकारी गराइएको छ र उनले पनि यस विषयमा नजिकबाट नजर राखिरहेकी छन्।

इरानमा गरिएको हवाई हमलाका सन्दर्भमा इजरायली सेनाले इरानको सैन्य लक्ष्यमा सटिक आक्रमण गरिरहेको बताएको छ।यसैबीच, इरानको सरकारी मिडियाले राजधानी तेहरानमा ठूलो विस्फोटको आवाज सुनिएको बताएको छ।

आक्रमणको कारणबारे बताउँदै बीबीसी मध्यपूर्व क्षेत्रका सम्पादक सेबास्टियन शरले इरानमा इजरायलको आक्रमण बदला हुनसक्ने उल्लेख गरेका छन्। 

सेबास्टियन अशरका अनुसार इरानले एक महिनाअघि इजरायलमा २०० ब्यालेस्टिक मिसाइल प्रहार गरेको थियो। इजरायली आक्रमण त्यसको जवाफ हो।