सोलद्वारा रुस–उत्तर कोरिया सन्धिको आलोचना, जेलेन्स्कीद्वारा ‘ठोस दबाब’ को आग्रह

काठमाडौँ १० कात्तिक : दक्षिण कोरियाले रुसलाई प्योङयाङसँगको ‘गैरकानूनी सहयोग’ रोक्न आग्रह गर्दै शुक्रबार मस्कोले उत्तर कोरियासँगको रक्षा सन्धि अनुमोदन गर्न लागेकामा ‘गम्भीर चिन्ता’ व्यक्त गरेको छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले त्यसको केही बेरपछि रुसले आइतबारदेखि नै आफ्नो मुलुकविरुद्ध उत्तर कोरियाली सैनिक पठाउन योजना बनाइरहेको चेतावनी दिनुभयो र विश्व नेताहरूलाई प्योङयाङमाथि ‘ठोस दबाब’ दिन आग्रह गर्नुभयो ।

रुसी सांसदहरूले बिहीबार उत्तर कोरियासँगको रक्षा सन्धि अनुमोदन गर्न सर्वसम्मतिले मतदान गरे । सन्धिमा कुनै पनि पक्षले आक्रमणको सामना गर्नुपरेमा ‘पारस्परिक सहायता’ को व्यवस्था छ । सन्धिलाई अब संसद्को माथिल्लो सदन फेडरेसन काउन्सिलमा स्वीकृतिका लागि पठाइनेछ ।

दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले हजारौँ उत्तर कोरियाली सैनिकहरू रुसमा प्रशिक्षणरत रहेको बताएका छन् ।

युक्रेनले यसै साता रुसको कुर्स्क सीमा क्षेत्रको ‘युद्ध क्षेत्र’ मा उत्तर कोरियाली सैनिकहरू पुगेको बताएको छ ।
सैनिक तैनाथ गरेको पुष्टिबाट बच्दै उत्तर कोरियाले रुसमा कुनै पनि सैन्य तैनाथी अन्तर्राष्ट्रिय कानून अनुरूप हुने बताएको छ ।

“सोलले रुसमा उत्तर कोरियाली सैनिकहरूको चलिरहेको तैनाथीको बीचमा रुस–उत्तर कोरिया सन्धि अनुमोदन गरेकामा गम्भीर चिन्ता व्यक्त गर्दछ”, दक्षिण कोरियाली विदेश मन्त्रालयले एक वक्तव्यमा भनेको छ, “दक्षिण कोरियाली सरकार उत्तर कोरियाली सैनिकहरूको तत्काल फिर्ती र गैरकानूनी सहयोगको समाप्तिका लागि दृढतापूर्वक आग्रह गर्दछ ।”

सोलले यस कदममाथि ‘उपयुक्त उपायहरू’ लिन सहयोगीहरूसँग काम गर्ने बताएको छ । साथै प्रमुख हतियार निर्यातक दक्षिण कोरियाले किएभलाई सिधै हतियार पठाउनबाट रोक्ने लामो समयदेखिको नीतिमा संशोधन गर्नसक्ने सङ्केत गरेको छ ।

– भिडन्तको सजाय –

जेलेन्स्कीले शुक्रबार रक्षा अधिकारीहरूसँगको बैठकपछि उत्तर कोरियाली सैनिकहरूलाई यस सप्ताहान्तमा युक्रेनी सैनिकहरूविरुद्ध लडाइँमा पठाउन सकिने बताउनुभयो ।

“गुप्तचर प्रतिवेदनहरू अनुसार अक्टोबर २७–२८ मा रुसले पहिलो उत्तर कोरियाली सैनिकहरूलाई युद्ध क्षेत्रहरूमा प्रयोग गर्नेछ”, उहाँले सामाजिक सञ्जालमा भन्नुभयो, “युद्धमा उत्तर कोरियाको वास्तविक संलग्नतालाई आँखा चिम्लेर र अस्पष्ट टिप्पणीहरूले नभई संयुक्त राष्ट्र बडापत्रको पालना गर्न र भिडन्तको वृद्धिलाई सजाय दिन मस्को र प्योङयाङ दुवैमाथि ठोस दबाबका साथ सामना गर्नुपर्छ ।”

युक्रेनी राष्ट्रपति कार्यालयका एक वरिष्ठ अधिकारीले उत्तर कोरियाली सैनिकहरूलाई या त रुसको कुर्स्क क्षेत्रमा वा पूर्वी युक्रेनमा युद्धमा तैनाथ गर्न सकिने बताए ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार राज्य टेलिभिजनमा प्रसारित एक अन्तर्वार्तामा पारस्परिक सैन्य सहायतासम्बन्धी सन्धिको धारालाई कसरी प्रयोग गर्ने भन्ने मस्कोमा भर पर्ने बताउनुभयो ।

    “यो धारासँग हामी के कारबाही गर्छौं– त्यो अझै प्रश्नको घेरामा छ । हामी हाम्रा उत्तर कोरियाली मित्रहरूसँग सम्पर्कमा छौँ”, उहाँले भन्नुभयो, “मेरो भन्नुको अर्थ यो हाम्रो सार्वभौम निर्णय हो, हामी केही प्रयोग गर्छौं वा गर्दैनौँ । कहाँ, कसरी, हामीलाई यो चाहिन्छ वा चाहिँदैन, वा उदाहरणका लागि हामी केवल केही अभ्यासहरू, प्रशिक्षण, केही अनुभव साटासाट गर्छौँ – त्यो हाम्रो काम हो ।”

सोल र वासिङ्टनले लामो समयदेखि आणविक–सशस्त्र उत्तर कोरियाले रुसलाई ठूलो मात्रामा हतियार पठाइरहेको दाबी गर्दै आएका छन् ।

उत्तर कोरियाका एक संयुक्त राष्ट्र प्रतिनिधिले संयुक्त राष्ट्र महासभाको निःशस्त्रीकरण र अन्तर्राष्ट्रिय सुरक्षासम्बन्धी पहिलो समितिमा देशले मस्कोलाई सहयोग गर्न न त हतियार न त सैनिक नै पठाएको बताए ।

“दक्षिण कोरिया र अन्यको आरोपहरू उत्तर कोरियाको छविलाई धमिल्याउने उद्देश्यले लगाइएका आधारहीन हल्लाहरू मात्र हुन्”, रिम मु सोङले भन्नुभयो, “यो अमेरिका र पश्चिमी देशहरूबाट थप हतियार र वित्तीय सहयोग प्राप्त गर्न युक्रेनले तयार गरेको अर्को बदनाम अभियान हो ।”

दक्षिण कोरियाका प्रतिनिधिले रुसी वर्दीमा कोरियाली बोल्ने उत्तर कोरियाली सैनिकहरूका अनलाइनमा फैलिएका भिडियोहरूको कुरा उठाए, तर रिमले सैनिक तैनाथीको आरोपलाई ‘फेरि पूर्ण रूपमा अस्वीकार गर्ने’ बताउनुभयो ।

यद्यपि शुक्रबार एक कूटनीतिक अधिकारीले प्योङयाङलाई रुसी भूमिमा सैनिक तैनाथ गर्ने पूर्ण अधिकार हुने तर्क राखे । “यदि विश्व मिडियाले कुरा गरिरहेको यस्तो कुनै कुरा छ भने म यो अन्तर्राष्ट्रिय कानूनको नियमहरू अनुरूप हुने कार्य हुनेछ भन्ने सोच्छु”, रुसी मामिलाका उपविदेशमन्त्री किम जोङ ग्युले भन्नुभयो ।

– उत्तेजना –

दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलले सैनिक तैनाथीलाई ‘कोरियाली प्रायद्वीप र युरोपबाहेक विश्व सुरक्षालाई धम्की दिने उत्तेजना’ भन्नुभएको छ । उहाँले दक्षिण कोरियाले रुससँगको युद्धमा युक्रेनलाई हतियार उपलब्ध गराउने आफ्नो स्थितिको ‘समीक्षा’ गर्ने बताउनुभयो ।

सोलले पहिले नै किएभको प्रमुख सहयोगी पोल्यान्डलाई अर्बौँ डलर मूल्यका ट्याङ्क, तोप, आक्रमण विमान र रकेट लन्चरहरू बेचिसकेको छ ।

दक्षिण कोरियाले जुनमा पोल्यान्डलाई के२ ट्याङ्क निर्माण गर्न आवश्यक ज्ञान हस्तान्तरण गर्न सहमति जनायो । यसलाई विशेषज्ञहरूले युक्रेनभित्र उत्पादनतर्फको एक महत्त्वपूर्ण कदम हुन सक्ने बताएका छन् ।

दक्षिण कोरियाको हन्वा एयरोस्पेसले पोल्यान्डलाई रकेट तोपखाना एकाइहरू आपूर्ति गर्न एक अर्ब ६४ करोड अर्ब डलरको सम्झौतामा हस्ताक्षर गरेको छ ।