नयाँ युगका निम्ति योग्य नागरिक तयार गर्ने अभियान सुरु गरौँ : विजुक्छेँ

भक्तपुर, ९ कात्तिक: नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेँले नयाँ युगको निम्ति योग्य नागरिक तयार गर्ने अभियान सुरु गर्नुपर्ने बताउनुभएको छ । 

आज भक्तपुर नगरपालिकाले आयोजना गरेको भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताको उद्घाटन गर्नुहुँदै उहाँले नयाँ युगको निम्ति योग्य नागरिक तयार गर्ने अभियानको सुरुआत खेलकुदबाट गर्नुपर्ने बताउनुभएको हो । अध्यक्ष विजुक्छेँले शारीरिक रूपमा स्वस्थ व्यक्तिले समाजका लागि धेरै काम गर्न सक्ने भन्नुहुँदै त्यस्ता व्यक्ति विद्यालयबाटै तयार पार्नुपर्ने बताउनुभयो । 

कार्यक्रममा भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले खेलकुद महोत्सवको रूपमा सुरु गरेको प्रतियोगिता देशलाई आवश्यक राष्ट्रिय–अन्तर्राष्ट्रिय खेलाडी तयार गर्ने उद्देश्यले आयोजना गरेको बताउनुभयो । 

बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईं, भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठलगायतले खेलकुद देशका लागि हुनुपर्नेमा जोड दिनुभयो । कात्तिक १५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा खेलकुदका विभिन्न १५ विधाका खेलका लागि ८४ वटा विद्यालयका दुई हजार ८४६ खेलाडीले भाग लिने भक्तपुर नपा युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले जानकारी दिनुभयो । 

प्रतियोगितामा विद्यालयस्तरीय टेबुलटेनिस, भलिबल, फुटबल, कबड्डी, खो—खो, एथ्लेटिक्स, बुद्धिचाल, ब्याडमिन्टन, कराँते, उसु, तेक्वान्डो, पोर्टबल, जिम्नास्टिक, कसिमला पाँय र बाघचाललगायत खेल हुनेछन् ।