जर्मनीद्वारा भारतीयहरूलाई थप भिसा दिने प्रतिबद्धता

जर्मनीले भारतीय कुशल कामदारहरूलाई आफ्नो देशमा काम गर्न दिने भिसाको सङ्ख्या उल्लेखनीय रूपमा बढाउने वाचा गरेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जर्मन चान्सलर ओलाफ सोल्सलाई नयाँदिल्लीमा शुक्रबार स्वागत गर्ने क्रममा जर्मनीबाट उक्त प्रतिबद्धता आएको हो ।

विश्वको तेस्रो र पाँचौँ ठूलो अर्थतन्त्रका नेताहरूबीच छलफलका लागि जर्मन चान्सलर सोल्स केही क्याबिनेट मन्त्रीहरूसहित गत वर्षयता भारतको तेस्रो भ्रमणमा आउनुभएको छ । उहाँको प्रशासन कुशल भारतीय कामदारहरूलाई वार्षिक रूपमा प्रदान गरिने भिसाको सङ्ख्या २० हजारबाट बढाएर ९० हजार पु¥याउन सहमत भएको छ । “जर्मनी कुशल कामदारहरूका लागि खुला छ भन्ने सन्देश हो”, सोल्सले भन्नुभयो ।

मोदीले यस सम्झौतालाई दुवै देशका लागि आर्थिक वरदान भएको बताउनुभयो । “भारतको गतिशीलता र जर्मनीको सटीकता मिल्दा जर्मनीको इन्जिनियरिङ र भारतको नवप्रवर्तन मिल्नेछन्...इन्डो–प्यासिफिक र सम्पूर्ण विश्वका लागि एउटा राम्रो भविष्य निर्धारित हुन्छ”, उहाँले भन्नुभयो ।

भारत र जर्मनीले पेशेवर र विद्यार्थीहरूको गतिशीलतालाई सहज बनाउन दुई वर्षअघि पहिलो पटक आप्रवासन सम्झौतामा हस्ताक्षर गरेका थिए ।

बर्लिनले आफ्नो भिसा आवेदन प्रक्रियालाई झन्झटमुक्त बनाउने र जर्मनीमा भारतीय पेशागत योग्यताको मान्यतालाई सुधार गर्ने प्रतिबद्धता पनि जनाएको छ ।

सोल्स सन् २०२३ फेब्रुअरीमा राजकीय भ्रमण र त्यसपछि नयाँदिल्लीमा भएको जी२० शिखर सम्मेलनपछि बिहीबार राति भारत आइपुग्नुभएको छ ।  भारतको विदेश मन्त्रालयले यस हप्ता दुवै देशबीचको साझेदारी वर्षौंदेखि ‘गहिरिँदै’ गएको बताएको छ । जर्मनी र भारत रक्षा साझेदार हुन् र दुवै पक्षका नौसेनाले यस हप्ताको सुरुमा हिन्द महासागरमा ‘समुद्री साझेदारी अभ्यास’  गरेका छन् ।

पहिलो पटक गरिएको यो अभ्यास ‘दुई राष्ट्रबीचको समुद्री सम्बन्ध र नौसेनाबीचको अन्तरसञ्चालनीयतालाई थप सुदृढ बनाउने’ उद्देश्यले गरिएको भारतीय नौसेनाको बिहीबारको विज्ञप्तिमा उल्लेख छ ।

– थप सहयोग –

“हामी रक्षामा पनि हाम्रो सहयोग गहन बनाउन चाहन्छौँ र हाम्रा सैन्य बलहरूलाई नजिक ल्याउन सहमत छौँ”, सोल्सले भन्नुभयो, “हाम्रो समग्र सन्देश स्पष्ट छः हामीलाई कम होइन, थप सहयोग चाहिन्छ ।”

यद्यपि दुई देशका रुस र युक्रेनसँगको युद्धबारे फरक मत छन् । जर्मनीले किएभलाई बलियो समर्थन गरिरहँदा मोदीले यस हप्ता ब्रिक्स शिखर सम्मेलनमा रुसी राष्ट्रपति पुटिनलाई अङ्कमाल गर्नुभयो ।

जर्मनीको विपरीत मोदी सरकारले पश्चिमी सहयोगीहरूसँग नजिकको सुरक्षा साझेदारी खोज्दै गर्दा पनि मस्कोसँगको आफ्नो लामो समयदेखिको सम्बन्ध कायम राखेको छ ।

नयाँदिल्लीमा रहँदा सोल्सले रुसले चाँडै नै उत्तर कोरियाली सैनिकहरूलाई युक्रेनमा लडाइँमा पठाउन सक्ने रिपोर्टहरू ‘धेरै चिन्ताजनक’ भएको बताउनुभयो ।

“यो गम्भीर छ र निश्चय नै यसले परिस्थितिलाई थप बढाउँछ”, उहाँले भन्नुभयो, “साथै, यसले रुसी राष्ट्रपति कठिन अवस्थामा रहेको पनि देखाउँछ । उहाँले अब ती देशहरूसँग मित्रता गाँस्नुभएको छ जसको व्यवहारको उहाँले कुनै समयमा कडा आलोचना गरेका थिए ।”

सोल्सको भ्रमणले भारतको महत्त्वाकांक्षी ‘हरित हाइड्रोजन’ उत्पादन कार्यक्रमलाई पनि समेटेको छ । हरित हाइड्रोजन रुसी तेल र ग्यास आपूर्ति घटेको र बर्लिनले आफ्नो जलवायु लक्ष्य पूरा गर्न खोजिरहेको बेला जर्मनीमा मागमा रहेको स्वच्छ ऊर्जा स्रोत हो । दुवै देशका प्रतिनिधिहरूले शुक्रबार द्विपक्षीय ‘हरित हाइड्रोजन मार्गचित्र’ मा सहमति जनाएका छन् । यसको  विवरण अझै प्रकाशित गरिएको छैन ।

सोल्स र उहाँको टोली शनिबार नौसैनिक जहाजहरूको निरीक्षण गर्न गोवा जाने र साँझमा जर्मनी फर्कने अपेक्षा गरिएको छ ।