रुसमा कथित सैन्य तैनाथी ‘अन्तर्राष्ट्रिय कानून अनुरूप’ हुनेछ– उत्तर कोरिया

उत्तर कोरियाले शुक्रबार रुसमा कुनै पनि सैन्य तैनाथी अन्तर्राष्ट्रिय कानून अनुरूप हुने बताएको छ । यद्यपि उसले सैनिक पठाएको बारे पुष्टि गरेको छैन ।

“यदि विश्व मिडियाले कुरा गरिरहेको यस्तो कुनै कुरा छ भने म यो अन्तर्राष्ट्रिय कानूनको नियमहरू अनुरूप हुने कार्य हुनेछ भन्ने सोच्छु”, रुसी मामिलाका उपविदेशमन्त्री किम जोङ ग्युलाई उद्धृत गर्दै कोरियन सेन्ट्रल न्युज एजेन्सीले भन्यो ।

सोल र वासिङ्टनले आणविक–सशस्त्र उत्तर कोरियाले रुसमा हजारौँ सैनिक पठाएको आरोप लगाएका छन् । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले कोरियाली सैनिकहरूलाई आइतबारदेखि नै युद्धमा पठाउन सकिने बताउनुभएको छ ।

लामो समयदेखि उत्तर कोरियाले रुसलाई ठूलो मात्रामा हतियार पठाएको आरोप लगाउँदै आएको सोलले सुदूर पूर्वका सैन्य अड्डाहरूमा रुसी वर्दीमा उत्तर कोरियाली सैनिकहरू देखिएका अनलाइन भिडियोहरू देखाएको छ ।

संयुक्त राष्ट्रसङ्घमा उत्तर कोरियाका प्रतिनिधिहरूले यी दाबीहरूलाई खारेज गरेका छन् । उत्तर कोरियाली सरकारी मिडियामा यस विषयको पहिलो उल्लेखमा उपविदेशमन्त्री किम जोङ ग्युले ‘कोरियन पिपल्स आर्मीका सैनिकहरू रुस पठाइएको हल्लालाई ध्यान दिएको’ बताउनुभयो ।

“उत्तर कोरियाको विदेश मन्त्रालय राष्ट्रिय रक्षा मन्त्रालयका कुराहरूमा प्रत्यक्ष संलग्न हुँदैन र यसलाई छुट्टै पुष्टि गर्ने आवश्यकता महसुस गर्दैन”, उहाँले भन्नुभयो, “यदि यो अस्तित्वमा छ भने ‘यो अन्तर्राष्ट्रिय कानूनको नियमहरू अनुरूप हुने कार्य हुनेछ’, यसलाई गैरकानूनी भनेर वर्णन गर्न चाहने शक्तिहरू स्पष्ट रूपमा अस्तित्वमा रहनेछन् ।”

दक्षिण कोरियाले सैनिक तैनाथीको कडा आलोचना गर्दै रुसलाई प्योङयाङसँगको ‘गैरकानूनी सहयोग’ रोक्न आह्वान गरेको छ । साथै सोलले रुससँगको युद्धमा युक्रेनलाई प्रत्यक्ष हतियार उपलब्ध गराउने आफ्नो स्थितिको समीक्षा गर्ने चेतावनी दिएको छ ।

घरेलु नीतिले सोलललाई सक्रिय द्वन्द्व क्षेत्रहरूमा हतियार बिक्री गर्न रोकेको छ तर प्रमुख हतियार निर्यातक दक्षिण कोरियाले पहिले नै किएभको प्रमुख सहयोगी पोल्यान्डलाई अर्बौं डलर मूल्यका ट्याङ्क, तोप, आक्रमण विमान र रकेट लन्चरहरू बिक्री गरिसकेको छ ।