टेस्ला कार आगोलागि हुँदा चार भारतीयको मृत्यु

 क्यानडाको टोरन्टो नजिकै रातको समयमा टेस्ला कार दुर्घटना हुँदा चार भारतीयको मृत्यु भएको छ । सडकको बीचमा रहेको डिभाइडरमा कार ठोक्किएर आगो लागेपछि उनीहरूको घटनास्थलमै मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

मृत्यु हुनेमा गुजरातको एकै परिवारका केता गोहिल र निल गोहिल रहेका छन् । उनीहरू दुई अन्य व्यक्तिहरूसँग यात्रा गर्दै थिए, जसको पनि घटनास्थलमै मृत्यु भएको बताइएको छ । उनीहरूको पहिचान भने खुलाइएको छैन । 

सडकको डिभाइडरमा कार ठोक्किँदा कारको ब्याट्रीमा आगो लागेको बताइएको छ । उनीहरू कहाँ जाँदै थिए र टेस्ला स्वचालित मोडल थियो कि थिएन भन्ने कुरा स्पष्ट भएको छैन ।

यसअघि, यसै वर्ष जुलाईमा तीन जना पञ्जाबी विद्यार्थीको क्यानडामा कार दुर्घटनामा ज्यान गएको थियो ।