नसरल्लाहको मृत्यु हिजबुल्लाहका लागि ‘एक युगको अन्त्य’

काठमाडौँ, ९ कात्तिक : एक महिनाअघि हिजबुल्लाहका शक्तिशाली नेता हसन नसरल्लाहको हत्याले इरान समर्थित लेबनानी आन्दोलनको लागि मौलिक परिवर्तनलाई चिह्नित गरेको छ ।

“नसरल्लाहको मृत्युले हिजबुल्लाहको एक युगको अन्त्य गरेको छ”, अमेरिकास्थित थिङ्क ट्याङ्क सेन्च्युरी फाउन्डेसनका विश्लेषक साम हेलरले भन्नुभयो । 

दशकौँ सत्तामा रहेपछि, नसरल्लाहको मृत्युले “संगठनका लागि आवश्यक रूपमा परिवर्तनलाई चिह्नित गर्नेछ”, उहाँले बताउनुभयो ।  

नसरल्लाहको प्रभाव लेबनानमा शिया मुस्लिम समर्थन आधारभन्दा धेरै टाढासम्म फैलिएको थियो।  उहाँ संयुक्त राज्य अमेरिका र इजरायल विरुद्ध इरानी प्रतिरोधको एक प्रमुख स्तम्भ हुनुहुन्थ्यो ।   

इजरायलले गत सेप्टेम्बर २७ मा बेरुतको दक्षिणी उपनगरमा गरेको हवाई आक्रमणमा नसरल्लाहको हत्यापछी हिजबुल्लाहको आन्दोलनलाई नयाँ युगमा धकेलेको छ । 

गत महिना, इजरायलले हिजबुल्लाहको गढहरूमा आक्रमणहरू बढाएको थियो जसमा एकपछि अर्को समूहको शीर्ष नेतृत्वको मृत्यु भएको हो । 

सन् १९९२  देखि समूहको नेतृत्व गरिरहेका नसरल्लाहले दशकौँसम्म इजरायलविरुद्ध कारबाहीको नेतृत्व गर्नुभयो । हेलरका अनुसार उहाँ सङ्गठनको अग्रणी निर्णयकर्ता हुनुहुन्थ्यो ।  समूहको शासक शूरा काउन्सिलले अहिलेसम्म उत्तराधिकारी नियुक्त गरेको छैन। 

नसरल्लाहको हत्याको केही दिनपछि उक्त पदका लागि सम्भावित धर्मगुरु हाशेम सफीद्दिनको पनि इजरायली आक्रमणमा हत्या भएको थियो । 

हिजबुल्लाह हाल नेतृत्वबिहिन रहेको यसका उप प्रमुख नईम कासेमले बताउनुभएको छ । 

त्यसैगरी, प्रधानमन्त्री नाजिब मिकातीसहित अन्य लेबनानी अधिकारीहरूले उक्त समूहसँग हप्तौँदेखी सम्पर्क नभएको बताउनुभएको छ ।