एलन मस्कको सम्पत्ति एकै दिन ३० अर्ब डलर ले बढ्याे

अर्बपति उद्यमी एलन मस्कको सम्पत्ति एकै दिन ३० अर्ब डलर (करिब ४० खर्ब २६ अर्ब रुपैयाँ)ले बढेको छ । विद्युतीय सवारी निर्माता कम्पनी टेस्लाको शेयरमा २२ प्रतिशतले वृद्धि हुँदा मस्कको सम्पत्ति अकासिएको हो । 

कम्पनीले बिहीबार तेस्रो त्रैमासिक आम्दानी सार्वजनिक गरेपछि टेस्लाको कूल शेयर मूल्यमा १५० अर्ब डलर बढेको थियो । कम्पनीले सार्वजनिक गरेको आम्दानी प्रतिवेदनमा ग्रस मार्जिन अपेक्षा गरेको भन्दा बढी देखिएको थियो । त्यसले पनि लगानीकर्ताको आकर्षण बढाएको बताइएको छ ।

त्यसका साथै २०२५ सम्मका लागि कम लागतमा सवारी साधन उत्पादनको योजना र अर्को वर्ष ३० प्रतिशतसम्म सवारी साधन डेलिभरी वृद्धि हुने एलन मस्कको घोषणासँगै बजार मूल्य बढ्न पुगेको हो । 

टेस्लाको शेयर मूल्य बढेसँगै मस्कको कूल सम्पत्ति २७० अर्ब डलर (करिब ३६२ खर्ब ४२ अर्ब रुपैयाँ) पुगेको छ । यसअघि मस्कको सम्पत्ति घटिरहेको थियो । मस्कलाई पछ्याउँदै दोस्रो स्थानमा २०९ अर्ब डलर सम्पत्तिका साथ जेफ बेजस दोस्रो स्थानमा छन् । त्यसैगरी तेस्रो स्थानमा २०१ अर्ब डलर सम्पत्तिका साथ मार्क जुकरबर्ग रहेका छन् । 

मस्कको सम्पत्तिमध्ये १३ प्रतिशत टेस्लाको शेयरमा निर्भर छ । टेस्लामा उनको ३० करोड ४० लाख स्टक रहेको छ । अर्थात् टेस्लामा मस्कको १२३ अर्ब डलर बराबरको सम्पत्ति रहेको छ । 

टेस्लापछि मस्कको सम्पत्ति स्पेस एक्समा निर्भर छ । मस्कसँग स्पेसएक्सको ४२ प्रतिशत शेयर छ । यो भनेको ८० अर्ब डलर हो । त्यसैगरी मस्कको लगानी ‘द बोरिङ कम्पनी’, न्युरालिङ्क, एक्स, एक्स एआईमा पनि छ ।